बलिउड अभिनेता प्रदीप रावतको निधन, नेपाली फिल्ममा पनि गरेका थिए अभिनय

बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। ‘गजनी’को शक्तिशाली खलनायक भूमिकाबाट चर्चित रावतले नेपाली फिल्ममा पनि अभिनय गरेका थिए।

बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतको निधन भएको छ। ‘गजनी’मा निर्वाह गरेको शक्तिशाली खलनायकको भूमिकाबाट व्यापक चर्चा कमाएका रावतले ७४ वर्षको उमेरमा अन्तिम सास लिएका हुन्।

अभिनेता यशपाल शर्माले सामाजिक सञ्जालमार्फत रावतको निधनबारे जानकारी दिँदै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनको निधनको खबर सार्वजनिक भएसँगै भारतीय तथा नेपाली फिल्म क्षेत्रका कलाकार र प्रशंसकले दुःख व्यक्त गरिरहेका छन्।

रावतले हिन्दी, तमिल, तेलुगुसहित विभिन्न भाषाका फिल्ममा अभिनय गरेका थिए। आमिर खान अभिनीत ‘गजनी’मा शीर्ष खलपात्रको भूमिकाले उनलाई दर्शकमाझ विशेष पहिचान दिलाएको थियो। उनले ‘लगान’, ‘सरफरोश’, ‘कोयला’, ‘सिंह इज ब्लिङ’लगायत चर्चित फिल्ममा पनि अभिनय गरेका थिए।

उनको अभिनय यात्रा बीआर चोपडाको लोकप्रिय टेलिभिजन धारावाहिक ‘महाभारत’बाट सुरु भएको थियो। उक्त धारावाहिकमा उनले अश्वत्थामाको भूमिका निर्वाह गरेका थिए।

नेपाली फिल्ममा पनि छाडे विशेष छाप

भारतीय फिल्म उद्योगमा लामो समय सक्रिय रावत पछिल्लो समय नेपाली फिल्ममा पनि देखिएका थिए। निर्देशक चन्द्र पन्तको फिल्म ‘ह्रस्व दीर्घ’मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका उनले ‘आ बाट आमा’मा पनि अभिनय गरेका थिए।

पल शाह र विपना थापा अभिनीत ‘आ बाट आमा’मा रावतको समेत महत्त्वपूर्ण भूमिका थियो। फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।

रावतले ‘आ बाट आमा २’मा पनि अभिनय गरेको निर्माण पक्षले जनाएको छ। फिल्म आगामी दशैंमा प्रदर्शन गर्ने तयारी भइरहेको छ। नेपाली फिल्ममा लगातार काम गरिरहेका बेला भएको उनको निधनले निर्माण टिमसँगै नेपाली चलचित्र क्षेत्रलाई समेत स्तब्ध बनाएको छ।

दशकौँ लामो अभिनय यात्रामा प्रभावशाली खलपात्र तथा चरित्र अभिनेताका रूपमा दर्शकमाझ स्थापित प्रदीप रावत भारतीय र नेपाली फिल्मका आफ्ना स्मरणीय भूमिकामार्फत सधैँ सम्झिइरहनेछन्।