गायिका आगन्तुक खरेलको प्रीटि सलुन, यु.ए.ई. आबुधाबीपछि अब काठमाडौंमा पनि संचालन

गायिका आगन्तुक खरेलले आबुधाबीमा ११ वर्षदेखि सञ्चालन गर्दै आएको प्रीटि सलुन काठमाडौंको शंखमुलमा विस्तार गरेकी छन्। सलुनमा हेयर, मेकअप, ब्राइडल मेकओभर, हाइड्रा फेसियल र लेजर ट्रिटमेन्टलगायतका सेवा उपलब्ध छन्।

संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ११ वर्षदेखि सञ्चालन हुँदै आएको ‘प्रीटि सलुन’ले काठमाडौंमा पनि अन्तर्राष्ट्रियस्तरको ब्युटी तथा स्किन केयर सेवा सुरु गरेको छ।

गायिका आगन्तुक खरेलले काठमाडौं महानगरपालिका–३१, शंखमुलस्थित बागमती पुलनजिकै सलुन सञ्चालनमा ल्याएकी हुन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भवनको तेस्रो तलामा सलुन सञ्चालन गरिएको छ।

आइतबार आयोजित उद्घाटन समारोहमा गायिका खरेलकी सुपुत्री आँचल पुनले रिबन काटेर सलुनको औपचारिक उद्घाटन गरिन्। त्यसपछि गायिका खरेलसहित कार्यक्रममा उपस्थित सांगीतिक क्षेत्रका विभिन्न सेलिब्रेटीले केक काटेर उद्घाटन समारोहलाई उत्सवमय बनाएका थिए।

सञ्चालिका खरेलका अनुसार सलुनमा महिलालाई आवश्यक पर्ने विभिन्न सौन्दर्य तथा स्किन केयर सेवा एउटै स्थानबाट उपलब्ध गराइनेछ। गुणस्तरीय सेवा, आधुनिक प्रविधि र अनुभवी विशेषज्ञमार्फत प्रत्येक ग्राहकको व्यक्तिगत आवश्यकताअनुसार सेवा दिनु सलुनको प्रमुख विशेषता रहेको उनले बताइन्।

सलुनमा हेयर स्टाइलिङ, मेकअप, नेल आर्ट र ब्राइडल मेकओभरलगायतका ब्युटी सेवा उपलब्ध छन्। यससँगै अत्याधुनिक प्रविधिमा आधारित स्किन केयर सेवा पनि सञ्चालन गरिएको छ।

छालासम्बन्धी समस्याको पहिचानका लागि अनुभवी चिकित्सकको परामर्श उपलब्ध गराइने र आवश्यकताअनुसार उपचार तथा सेवा प्रदान गरिने व्यवस्था गरिएको खरेलले जानकारी दिइन्।

प्रीटि सलुनमा हाइड्रा फेसियल र लेजर ट्रिटमेन्टलगायतका आधुनिक स्किन केयर सेवा सञ्चालनमा छन्। सेवामा अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय स्किन केयर ब्रान्डका उत्पादन प्रयोग गरिने भएकाले ग्राहकले सुरक्षित, प्रभावकारी र विश्वसनीय सेवा पाउने सञ्चालिका खरेलको दाबी छ।

आबुधाबीमा हासिल गरेको ११ वर्षको अनुभवलाई नेपालमा विस्तार गर्दै नेपाली ग्राहकलाई विश्वस्तरीय सौन्दर्य तथा स्किन केयर सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा प्रीटि सलुन सञ्चालनमा ल्याइएको उनले बताइन्।