भारतीय गायकको नेपाली एल्बम


ग्ल्यामर नेपाल, काठमाडौँ। भारतीय गायक पण्डित इन्दु प्रकाशले नेपाली भाषाका गीत गाएर नेपाली श्रोता तथा दर्शकलाई अचम्ममा पारेका छन्। सोमबार साँझ याक एण्ड यति होटलमा आयोजित ‘सुरमाण्डु’ शीर्षकको सांगीतिक कार्यक्रममा इन्दु प्रकाशले आफूलाई नेपाली बोल्न राम्ररी नआउने बताए पनि उनले गाएको नेपाली गीत भने निकै सुरीलो थियो। उनलाई नेपाली गायिका उर्मिला महतले गायनमा साथ दिएकी थिइन्।

रोमान्टिक स्वभावका पण्डित इन्दुले नेपाली भाषामा गाएका गजलहरुको एल्बम ‘तस्बिर’ पनि सोही समारोहमा सार्वजनिक गरियो। यो एल्बमका गीतमा पनि गायिका उर्मिलाले उनलाई साथ दिएकी छिन्। राष्ट्रकवि माधवप्रसाद घिमिरे र भारतीय राजदूत रञ्जित रेले एल्बम सार्वजनिक गरेका थिए। समारोहमा राष्ट्रकवित घिमिरेले आफ्नो शब्दमा पनि इन्दुले स्वर दिएको बताउँदै यस हिसाबले दुई मुलुकको सिर्जना संयोजन भएको दाबी गरेका थिए। घिमिरेले भारतमा प्रसिद्ध कलाकारको रुपमा चिनिने इन्दुले नेपाली संगीतमा स्वर दिनु आफैमा प्रशंसनीय रहेको पनि बताए। राजदूत रेले पनि दुई मुलुक जोड्ने बलियो आधार संगीत नै रहेको बताए।

कार्यक्रममा इन्दु प्रकाशले ‘मनमा दियो’, ‘नयनमा आँसु’, ‘धुवाँ बनाइदियौ’, ‘आधारातमा’, ‘एक्लिएर’, ‘तिम्रो मनका’, ‘नबोलेरै धेरै कुरा’, ‘किन तरेको आँखा’, ‘सपना’ शीर्षकका गीतहरु लगातार गाए। त्यसो त कार्यक्रममा इन्दु प्रकाशले ‘रफ्ता रफ्ता’, ‘झुकीझुकी सी नजर’, ‘गाजलु ती ठूला ठूला आँखा’ लगायतका हिन्दी तथा नेपाली गजल पनि सुनाए। बीपी कोइराला भारत-नेपाल फाउन्डेसन र माईपोखरी म्युजिकले आयोजना गरेको सांगीतिक कार्यक्रममा एल्बममा संग्रहित गीत ‘मनमा दियो’ म्युजिक भिडियो पनि प्रिमिएर गरिएको थियो। विमोचित ‘तस्बिर’ एल्बममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, रेशम विरही, बीपी वाग्ले, प्रभाकर पण्डित, राजुबाबु श्रेष्ठ, डा. भोला रिजाल र सुरेश अधिकारीको शब्द रहेको छ भने इन्दुको एकल संगीत छ। उस्ताद नसिर अहमद खान र उस्ताद एकबाल अहमद खानका चेला इन्दुले क्लासिकल म्युजिकमा डिग्री गरेका छन्।

Click Here To View More Images Of This Event

SUBSCRIBE 👉