आइएएफ अवार्डको पहिलो संस्करण युरोपमा हुने


IAF-award-in-belgiumग्ल्यामर नेपाल, काठमाडौं । ‘हाम्रो अभियान कलाकर्मीलाई विश्वव्यापी पहिचान र सम्मान’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले सन् २०१५ सेप्टेम्बर २६ का दिनबाट प्रत्येक वर्ष ‘अन्तर्राष्ट्रिय कलाकार मञ्च सम्मान(आइएएफ अवार्ड)’ आयोजना गर्ने भएको छ। मञ्चले विभिन्न राष्ट्रमा नेपाली कला, संगीत, फिल्मको प्रचारप्रसार र त्यसको बजार सिजनार्थ तथा नेपाली कला, संगीत, फिल्म र समाजसेवीको सम्मानार्थ अवार्ड आयोजना गर्न लागेको हो।

संस्थाले अवार्डको पहिलो संस्करण बेल्जियममा गर्नेछ। अवार्डलाई सफल बनाउन बेल्जियमकै अर्को संस्था बीएनएफएले सहकार्य गर्नेछ। नेपाली कला, संगीत र फिल्म विधाका सम्मानित संस्थाका वरिष्ट व्यक्तिहरुको विशेष बैठकद्वारा छनौंट भएका हिमालय टेलिभिजन, क्लासिक एफएम, आइएएफइयु डटकम, नेपाल टेलिभिजन यूके तथा अन्य सञ्चारमाध्यमबाट प्राप्त दर्शक श्रोताको भोटिङका आधारमा १४ विधाका कलाकर्मीलाई सम्मान गरिनेछ। यसबाहेक नेपालका लागि विदेशी भूमिबाट योगदान पु¥याउने समाजसेवीलाई पनि ‘समाजसेवा सम्मान’बाट सम्मानित गरिनेछ।

अवार्डको दोस्रो दिन २७ तारिखमा बेल्जियमको अर्को शहर एन्त्रोपेनमा सम्मानित कलाकारको सम्मानमा ‘सम्मान साँझ’ आयोजना गरिने संस्थाका अध्यक्ष उज्जवल केसीले जनाए। कार्यक्रमको सम्पूर्ण मुनाफा अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले सन् २०१२ मा फ्रान्सको पेरिसमा सम्पन्न युरोपस्तरीय एकल नृत्यमा प्रतियोगिता २०१२ मा घोषणा गरेको ‘अन्तर्राष्ट्रिय कलाकार मञ्च सहायता अक्षयकोष’मा जम्मा गरिनेछ। आयोजकका अनुसार यो अक्षय कोष एक करोड नेपाली रुपैंयाँको हुनेछ। जसबाट प्राप्त व्याज रकम कुनै पनि कलाकर्मी आपदविपदमा पर्दा आवश्यक आर्थिक सहयोग गरिनेछ।

यस कोष संकलन अभियानमा नेपालका चर्चित कलाकारहरु कृष्ण मल्ल, सरोज खनाल, रमेश उप्रेती, शिवहरि पौड्याल, रामप्रसाद खनाल, देवेन युवराज (देवु श्रेष्ठ), जोगिन्दर शिवशंकरलगायतका कलाकार, पत्रकार र साहित्यकार सक्रिय छन्।