जितु र प्रियानाको रोमान्टिक केमेस्ट्री: फिल्म ‘कार्की साइला’को गीत ‘लग्यौ परान’

फिल्म ‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीतको भिडियोमा जितु नेपाल र प्रियाना आचार्य रोमान्टिक भूमिकामा देखिएका छन्।

Jitu Nepal and Priyana Acharya Shine in Nepali Movie ‘Karki Saila’ Song ‘Lagyau Paran’

असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मको प्रचारप्रसारका लागि उक्त गीत सार्वजनिक गरेको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र प्रियाना आचार्य प्रस्तुत भएका छन्। भिडियोमा उनीहरूको रोमान्टिक केमेस्ट्रीलाई आकर्षक रूपमा देखाइएको छ। गीत सार्वजनिक कार्यक्रममा सहभागी पत्रकारहरूले पनि भिडियोको प्रस्तुति राम्रो बनेको प्रतिक्रिया दिएका थिए।

‘लग्यौ परान’मा श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको छ। विष्णु नेपाल नेपालीले शब्द रचना गरेको गीतमा संकेत अगस्तीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ। गीतलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ।

फिल्ममा जितु नेपाल र प्रियाना आचार्यसँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायत कलाकारको अभिनय रहेको छ।

डम्बर राईको कथामा निर्माण भएको फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा तयार पारेका छन्।

बालकुमार राई र निर्भिक बञ्जाराको लगानी रहेको फिल्मको कार्यकारी निर्मातामा अनन्त राई छन्। डम्बर राईको डीओपी र नारायण गुरुङको छायांकन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन्। सह–सम्पादनको जिम्मेवारी सन्दीप डाँगीले सम्हालेका छन्।

फिल्ममा रोजल थापा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् भने गीत विष्ट र सजना थापा सहायक निर्देशक हुन्। दिप्सन लिम्बु र संकेत अगस्तीको संगीत रहने फिल्मका गीतहरूमा दिप्सन लिम्बु, श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर सुन्न सकिनेछ।

फिल्मको प्रोडक्सन म्यानेजमेन्ट सीबी भण्डारीले सम्हालेका छन् भने शृंगार रबि केसीको रहेको छ। फिल्मको पोस्ट–प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ।