सुष्मिता बोम्जन बनिन् नयाँ मिस ग्रान्ड नेपाल, मिस ट्यालेन्ट पनि उनकै नाममा

काठमाडौंमा सम्पन्न मिस ग्रान्ड नेपाल सिजन ९ को उपाधि सुष्मिता बोम्जनले जितेकी छन्। उनी मिस ट्यालेन्टसमेत घोषित भइन्। अरुणिमा लम्साल मिस ग्रान्ड युनिभर्स घोषित हुँदा आयिशा राउतले मिस ग्रान्ड अर्थसँगै मोस्ट क्रिएटिभ र मिस मल्टिमिडियाको उपाधि जितिन्।

Miss Grand Nepal Season 9 Winners | Photo Courtesy: Sandy Studio

मिस ग्रान्ड नेपाल सिजन ९ को ताज सुष्मिता बोम्जनले जितेकी छन्। काठमाडौंस्थित चलचित्र विकास बोर्डको अडिटोरियममा आयोजित ग्रान्ड फिनालेमा उनी प्रतियोगिताको मुख्य विजेता घोषित भएकी हुन्।

उपाधिसँगै सुष्मिताले २५ हजार रुपैयाँ नगद, फ्रेम गरिएको थाङ्का कलाकृति, अन्तर्राष्ट्रिय यात्राको टिकट तथा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्। उनले मिस ट्यालेन्टको सबटाइटलसमेत आफ्नो नाममा पारिन्।

प्रतियोगितामा अरुणिमा लम्सालले मिस ग्रान्ड युनिभर्सको उपाधि जित्दै १५ हजार रुपैयाँ नगद र फ्रेम गरिएको थाङ्का प्राप्त गरिन्।

त्यस्तै, आयिशा राउत मिस ग्रान्ड अर्थ घोषित भइन्। उनले १० हजार रुपैयाँ नगद र फ्रेम गरिएको थाङ्कासँगै मोस्ट क्रिएटिभ र मिस मल्टिमिडियाको सबटाइटल पनि जितिन्।

Miss Grand Nepal Season 9 Winner Sushmita Bomjan | Photo Courtesy: Sandy Studio

फिनालेको सुरुवात नेपालको सांस्कृतिक विविधता झल्काउने प्रस्तुतिबाट गरिएको थियो। प्रतियोगीहरूले विभिन्न समुदायको प्रतिनिधित्व गर्ने परम्परागत जातीय पहिरनमा र्याम्प प्रस्तुत गर्दै नेपालको समृद्ध संस्कृति र पहिचानलाई मञ्चमा उतारेका थिए।

दोस्रो चरणमा प्रतियोगीहरू आकर्षक रातो ककटेल पहिरनमा प्रश्नोत्तर चरणमा सहभागी भए। उक्त चरणमा उनीहरूले आत्मविश्वास, सञ्चार क्षमता, समसामयिक विषयप्रतिको सचेतना तथा आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता प्रदर्शन गरे।

अन्तिम प्रस्तुतिमा प्रतियोगीहरू डिजाइनर समीक्षा लामिछानेका विशेष डिजाइनमा मञ्चमा उत्रिए। आकर्षक डिजाइनसँगै प्रतियोगीहरूले आफ्नो व्यक्तित्व, स्टेज कन्फिडेन्स र प्रस्तुति क्षमता प्रदर्शन गरे।

Arunima Lamsal secured the title of Miss Grand Universe | Photo Courtesy: Sandy Studio

प्रतियोगिता आरके इन्टरटेनमेन्ट ग्रुपले आयोजना गरेको हो। संस्थाका अध्यक्ष लक्की राम के.सी. र सीईओ निशा आचार्यको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन चर्चित फेसन कोरियोग्राफर, मिडिया पर्सनालिटी तथा इभेन्ट प्रेजेन्टर रोजिन शाक्यले गरेका थिए।

प्रतियोगितामा क्षेत्रीय उपाधिहरू पनि प्रदान गरिएको थियो। दिप्ती झाले मिस ग्रान्ड मधेशसँगै मिस ग्ल्यामरको उपाधि जितिन्। सबिना सेन्चुरी मिस ग्रान्ड बागमती घोषित भइन्।

Aayisha Raut crowned Miss Grand Earth | Photo Courtesy: Sandy Studio

त्यस्तै, ओम कला माझीले मिस ग्रान्ड कोशी तथा फोटोजेनिकको उपाधि जितिन् भने ग्रिष्मा चौधरी मिस ग्रान्ड पूर्वाञ्चल घोषित भइन्।

फेसन, प्रतिभा, व्यक्तित्व र सांस्कृतिक प्रस्तुतिलाई समेटेको मिस ग्रान्ड नेपाल सिजन ९ ले सहभागी युवतीहरूलाई आफ्नो क्षमता, आत्मविश्वास र व्यक्तिगत पहिचान प्रस्तुत गर्ने मञ्च प्रदान गरेको थियो।