
नेपाली बालक सुर्यान्स श्रेष्ठले थाइल्याण्डमा आयोजित ‘जुनियर मोडल इन्टरनेसनल २०२६’को शीर्ष उपाधि जितेका छन्। २५ देशका बालबालिकाको सहभागिता रहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो नाममा गरेका हुन्।
सुर्यान्सले प्रि–टिन विधामा ‘प्रिन्स अफ एशिया’को सबटाइटलसमेत जितेका छन्। गत १९ तारिखदेखि सुरु भएको प्रतियोगिता आइतबार साँझ सम्पन्न भएको थियो। नेपालबाट सुर्यान्ससँगै शिवांशु अर्याल र अदिश्री आचार्यले पनि सहभागिता जनाएका थिए।
प्रतियोगितामा शिवांशुले जुनियर विधातर्फ ‘प्रिन्स अफ एशिया’ सबटाइटल जिते भने अदिश्रीले ‘प्रिन्सेस अफ एशिया’को सबटाइटल आफ्नो नाममा गरिन्।
प्रतियोगिताका विभिन्न चरणमा नेपाली सहभागीले नेपालको संस्कृति, सम्पदा र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका थिए। अदिश्रीले नेपालको मौलिक कपडा ‘ढाका’बाट तयार गरिएको पहिरनमार्फत नेपाली फेब्रिकको विशेषता प्रस्तुत गरिन्।

शिवांशुले नेपालको ऐतिहासिक ‘ढुङ्गेधारा’को इतिहास र वास्तुकला झल्किने भेषभूषा प्रस्तुत गरे। सुर्यान्सले भने विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दूत भगवान बुद्धको देशका रूपमा नेपालको परिचय झल्किने प्रस्तुति दिएका थिए।
नेपाली टोलीले बाजा र मौलिक भेषभूषासहित नेवारी संस्कृति तथा परम्परा झल्किने गीतमा विशेष प्रस्तुति पनि दिएको थियो। उक्त प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकको ध्यान खिचेको थियो।
नेपाली बालबालिकालाई प्रतियोगितामा सहभागी गराउने समन्वय रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेको हो। प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए। नेपाली प्रतियोगीहरूको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन्।

