
ग्ल्यामर नेपाल, काठमाडौं । केही समय अघि राजधानीमा आयोजित एक कार्यक्रममा वार्डरब मालफङ्सनका कारण चर्चामा आएकी नायिका प्रियंका कार्कीले पत्रकारप्रति आफुले पोखेको रोश फिर्ता लिएको बताएकी छन् । फिल्म ‘नाइ नभन्नु ल २’को सक्सेस पार्टीमा उपस्थित भएकी प्रियंकाको तस्वीर खिच्दा उनको भित्री वस्त्र देखिएको थियो र उनको ड्रेसअपको बारेमा विभिन्न अनलाइन मिडियामा समाचार आएको थियो ।
उनले उक्त कुराको खण्डन गर्दै पत्रकारलाई लाञ्छना लगाउने किसिमले फेसबुकमा स्ट्याटस लेखेपछि चलचित्र पत्रकार संघका सदस्य एवं ठूलो पर्दा डटकमका प्रकाशक तथा प्रधानसम्पादक जीवन पराजुलीले संघको कार्यालय अनामनगरमा प्रियंकालाई कारवाही गरी पाउँ भनी निवेदन दिएका थिए । त्यस लगत्तै संघको बसेको बैठकले प्रियंकालाई स्पष्टीकरण वा कारवाही प्रक्रिया अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्दै प्रियंकालाई स्पष्टीकरणका लागि समय दिएको थियो । उक्त निर्णय बमोजिम प्रियंकाले एक पत्र पठाउँदै आफ्नो स्ट्याटसमा लेखिएका शब्दहरु सम्मानपूर्वक फिर्ता लिएको जनाएकी छन् । ‘सञ्चारकर्मी तथा पत्रकार साथीहरुसँग मेरो सम्बन्ध सधै राम्रो रहिआएको र आउँदो दिनहरुमा पनि यो सम्बन्ध कायमै राख्नको लागि, मैले लेखेको स्टाटसमा व्यक्तिगत रुपमा कसैको नाम नलिएको अवस्थामा पनि कसैले चित्त दुखाउला वा कसैले व्यक्तिगत रुपमा लिनुहोला भन्ने सोच राखेर नै उक्त स्टाटस सम्मान पुर्वक आफ्नो शब्दहरु फिर्ता लिदै हटाए’ उनले भनेकी छन्,‘ जुन स्टाटसले गर्दा यो कुरा यहाँसम्म आइपुगेको छ, उक्त स्टाटस नै हटाएको अवस्थामा यो सम्पूर्र्ण मामला यहि नै टुङ्गिने मैले बुझेकी छु । कलाकार र पत्रकारको सहकार्य र मेलमिलापले नै चलचित्र उधोग विकासको पथमा लम्किने भएकोले, हाम्रो सहकार्य सधै रहिरहोस भन्ने कामना सहित यो निवेदन पेश गरेकी छु ।’
संघका महासचिव सन्दिप सापकोटाद्वारा जारी विज्ञप्तिमा प्रियंकाले शब्द फिर्ता लिएपछि विवाद समाधान भएको जनाइएको छ । ‘सम्पूर्ण उद्योगको विकासमा कलाकार वा चलचित्रकर्मी र चलचित्र पत्रकारहरुको हातेमालो जरुरी छ । आगामी दिनमा पनि कुनै चलचित्रकर्मीवाट प्रेस जगतको मर्यादा उल्लङ्घन नहोस र पत्रकारहरुवाट पनि प्रेसको मर्यादा कार्यान्वयन गर्दै कार्यरत रहन अनुरोध गरिन्छ । सके सम्म कलाकार होस् वा पत्रकारवाट बिबाद आउने काम नै नगर्न र कथंकदाचित आइहालेमा चलचित्र पत्रकार संघ सहजीकरण भूमिका निभाउन तत्पर रहेको समेत यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराईन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।
