
नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘डी सिने अवार्ड’को १७औँ संस्करणमा प्रदान गरिने विशेष सम्मान तथा पुरस्कारहरूको घोषणा गरिएको छ। विगत १७ वर्षदेखि छायाँछवि क्रियशन ले निरन्तर आयोजना गर्दै आएको अवार्डले नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, स्रष्टा तथा चलचित्रकर्मीहरूको योगदानलाई सम्मान गर्दै आएको छ।
आयोजक समितिको निर्णयअनुसार यस वर्षको ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ वरिष्ठ निर्देशक ज्ञानेन्द्र देउजा र चर्चित अभिनेत्री निरुता सिंह लाई प्रदान गरिने भएको छ।
त्यसैगरी, रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार सचित खड्का सम्मानित हुने भएका छन्। उक्त पुरस्कारसँगै नगद १५ हजार ५ सय ५५ रुपैयाँ पनि प्रदान गरिने आयोजकले जनाएको छ।
डी सिने अवार्डले वर्ष २०८१ मा प्रदर्शन भएका नेपाली चलचित्र तथा तिनमा आबद्ध कलाकार, प्राविधिक र स्रष्टाहरूलाई विभिन्न प्रतिस्पर्धात्मक विधामार्फत उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ।
आयोजकका अनुसार नेपाली चलचित्र उद्योगको विकास, विस्तार र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। अवार्ड समारोहमा चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता, पत्रकार, प्राविधिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।
१७औँ डी सिने अवार्ड समारोह आगामी जेठ २१ गते चलचित्र विकास बोर्ड परिसरमा आयोजना हुने तय गरिएको छ।
