
छाँयाछवि क्रियशनको आयोजनामा सम्पन्न १७औँ डी सिने अवार्डले नेपाली चलचित्र उद्योगका कलाकार, प्राविधिक र स्रष्टाहरूलाई सम्मानित गर्दै भव्य रूपमा सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा वर्ष २०८१ मा प्रदर्शन भएका चलचित्रहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो।

यस वर्षको अवार्डमा चलचित्र ‘अञ्जिला’ उत्कृष्ट चलचित्र घोषित भयो। सोही चलचित्रका निर्देशक मिलन चाम्स उत्कृष्ट निर्देशक घोषित भए। यस्तै, चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ बाट विजय बराल उत्कृष्ट अभिनेता र ‘बेहुली फ्रम मेघौली’ बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री बन्न सफल भइन्।

अवार्ड समारोहमा चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह लाई छाँयाछवि चलचित्रकर्मी रजत सम्मान प्रदान गरिएको थियो। साथै, रेखा फिल्म्स छाँयाछवि चलचित्र पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार सचित खड्का सम्मानित भए।

समारोहमा हास्य कलाकार गोपाल ढकाल, अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल, गायिका मिना नेपाली तथा समाजसेवी विश्वराम माकजुलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। अवार्डका लागि गठन गरिएको सेलेक्सन कमिटीका जुरी सदस्य पत्रकार नुमाकान्त पौडेल, निर्देशक अमर वली तथा संयोजक निर्देशक कमल एक्चै मगरलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले नेपाली चलचित्र क्षेत्रमा अवार्डहरूको महत्व र प्रभावबारे प्रकाश पारे। आयोजक संस्थाका अध्यक्ष शान्तिप्रिय ले डी सिने अवार्डको १७ वर्षे यात्राका उपलब्धि र चुनौतीबारे चर्चा गरेका थिए।

समारोहमा कलाकार, निर्माता, निर्देशक, चलचित्र पत्रकार तथा विभिन्न चलचित्रसम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा मोडल अस्मिता पुरीले नृत्य प्रस्तुति दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन निराजन भण्डारीले गरेका थिए।

१७औँ डी सिने अवार्ड २०८३ : प्रमुख विजेताहरू
🏆 उत्कृष्ट चलचित्र – अञ्जिला
🏆 उत्कृष्ट निर्देशक – मिलन चाम्स (अञ्जिला)
🏆 उत्कृष्ट अभिनेता – विजय बराल (पूर्णबहादुरको सारङ्गी)
🏆 उत्कृष्ट अभिनेत्री – स्वस्तिमा खड्का (बेहुली फ्रम मेघौली)
🏆 उत्कृष्ट सह अभिनेता – जितु नेपाल (कार्साङ)
🏆 उत्कृष्ट सह अभिनेत्री – ऋचा घिमिरे (तेल भिसा)
🏆 उत्कृष्ट चरित्र अभिनय – राजबल्लभ कोइराला (एक्टर टेक वान)
🏆 उत्कृष्ट नव निर्देशक – चन्द्र पन्त (ह्रस्व दीर्घ)
🏆 उत्कृष्ट लेखन – लक्ष्मण सुवेदी (सतीदेवी)
🏆 उत्कृष्ट छायांकार – पुरुषोत्तम प्रधान (पिताम्बर)
🏆 उत्कृष्ट सम्पादक – बन्दे प्रसाद (पिताम्बर)
🏆 उत्कृष्ट गीतकार – सुरेन्द्र राना (खुश्मा)
🏆 उत्कृष्ट संगीतकार – अर्जुन पोखरेल (ज्वाइँ साब)
🏆 उत्कृष्ट गायक – सविन सुवेदी (छक्का पञ्जा ५)
🏆 उत्कृष्ट गायिका – बेनिशा पौडेल (छक्का पञ्जा ५)
🏆 उत्कृष्ट द्वन्द्व निर्देशक – अष्ट महर्जन (एक्टर टेक वान)
🏆 उत्कृष्ट नृत्य निर्देशक – रामजी लामिछाने (दुखी आत्मा)
🏆 उत्कृष्ट जुरी अवार्ड – कृषा चौलागाईं (पिताम्बर)
🏆 उत्कृष्ट डायोस्पोरा चलचित्र – शंकर घिमिरे (तेल भिसा)
