
अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ (World Dance Championship 2026) मा प्रतिस्पर्धा गर्न नेपालबाट प्रतिनिधिमण्डल थाइल्यान्ड पुगेको छ। विश्वभरका प्रतिभाशाली नर्तक, प्रशिक्षक र कोरियोग्राफर सहभागी हुने प्रतियोगितामा नेपालका तीन टोलीले आफ्नो कला प्रस्तुत गर्दैछन्।
ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार हालै सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’बाट छनोट भएका टोलीहरूले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेका छन्।
प्रतियोगिताको टिम डिभिजन विजेता ‘टिम एनटी’, रनरअप ‘दि इननेट सउल’ र जुनियर टिम डिभिजनको ‘एनडिए जुनियर’ले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा अभिनेत्री परीक्षा लिम्बुको विशेष उपस्थिति रहेको छ। नेपालका चर्चित नृत्य निर्देशक तथा कोरियोग्राफर जेडी तमू भने निर्णायकको भूमिकामा सहभागी भएका छन्।

विश्वका विभिन्न देशका प्रतिष्ठित निर्णायकहरूसँगै नेपाली कोरियोग्राफरले प्रतियोगीहरूको मूल्यांकन गर्ने अवसर पाउनु नेपाली नृत्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
निर्देशक गहतराजका अनुसार यति ठूलो अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपालबाट पहिलोपटक यस स्तरमा निर्णायक चयन हुनु गौरवको विषय हो। यसले नेपाली नृत्यकर्मीहरूको क्षमता र अन्तर्राष्ट्रिय स्वीकार्यता बढ्दै गएको संकेतसमेत गरेको छ।
यस वर्ष निर्णायकको भूमिकामा विश्वप्रसिद्ध नृत्यांगना तथा कोरियोग्राफर काया पियर्स पनि सहभागी रहनेछिन्। न्यूजिल्यान्डकी पियर्स अमेरिकी पप स्टार जस्टिन बिबरको चर्चित गीत ‘सरी’को म्युजिक भिडियोको कोरियोग्राफीका लागि विशेष रूपमा परिचित छिन्।
प्रतियोगितामा विश्वभरबाट सयौँ नर्तक तथा नृत्य टोलीहरूको सहभागिता रहनेछ। विभिन्न विधाका नृत्य प्रस्तुति, प्रतिस्पर्धात्मक प्रदर्शन र सांस्कृतिक आदानप्रदानका कारण यो कार्यक्रम अन्तर्राष्ट्रिय नृत्य समुदायको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।
नेपाली टोलीहरूको सहभागिताले अन्तर्राष्ट्रिय नृत्य मञ्चमा नेपालको उपस्थिति थप सशक्त बनाउने विश्वास गरिएको छ। पछिल्ला वर्षहरूमा नेपाली नर्तक र नृत्य समूहहरूले विश्वस्तरीय प्रतियोगिताहरूमा उल्लेखनीय प्रदर्शन गर्दै आएका छन्।
यस्ता सहभागिताले नेपाली नृत्य प्रतिभालाई विश्वसामु चिनाउनुका साथै नयाँ पुस्ताका कलाकारलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

