ओझेलमा Love You Baba की छोरी


Gajit-Bista-Love-you-Babaग्ल्यामर नेपाल, काठमाडौं।
अभिनेता गजित विष्टका छोरा सौगात भर्खर आठ वर्षका भए तर उनी निर्देशनमा कस्सिएका छन्। उनले निर्देशन गरेको फिल्म ‘लभ यु बाबा’ मंसिर २६ देखि रिलिज हुँदैछ। यति सानो बालकको निर्देशन भएका कारण निर्माण घोषणा भएदेखी नै यो फिल्म चर्चामा छ। नेपालीमात्र होइन्, विदेशी मिडियाले पनि सौगातलाई प्राथमिकतामा राखेका छन् किनभने उनी यही फिल्मबाट कम उमेरमा फिचर फिल्म बनाउने निर्देशकको रेकर्ड बनाएर गिनिज बुकमा नाम लेखाउने प्रयास गर्दैछन्।

बाबु गजित, छोराको यो यात्रा सफल बनाउन दिलोज्यान दिएर लागेका छन्। त्यसैले मिडियामा चर्चा बाबुछोराको मात्र छ। तर फिल्मकी मुख्य कलाकार अर्थात गजितकी छोरीतिर प्रति कसैको ध्यान गएको देखिदैन। निर्देशन र कम उमेरको भएका कारण सौगातको बढी चर्चा भए पनि संगमलाई पनि उत्तिकै स्थान दिएको गजित बताउँछन्। फिल्म रिलिजपश्चात दर्शकले उनको कामलाई निकै रुचाउने उनको विश्वास छ। फिल्ममा बाबुछोरीबीचको प्रेमलाई देखाउने प्रयास गरिएको छ। उसो त संगम बालकलाकारका रुपमा फिल्ममा स्थापित भइसकेकी छिन्। उनले यसअगाडी ‘श्रीमान्’, ‘अपहरण’, ‘वरदान’लगाएतका फिल्ममा अभिनय गरेकी थिइन्।