
Biraj Bhatta and Sushil Shrestha from the movie Ram Nam Satya
चैत्र २७ गतेबाट प्रदर्शनमा आएको ‘राम नाम सत्य’ बक्स अफिसमा मजबुत गतिमा अगाडि बढिरहेको छ। वितरक गोविन्द शाहीका अनुसार फिल्मले सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरिसकेको छ।
सरकारी आँकडाअनुसार शनिबारसम्म फिल्मको कमाई करिब २ करोड ८० लाख देखिए पनि केही हलहरूको तथ्यांक नजोडिँदा वास्तविक कलेक्शन अझै माथि पुगेको वितरक शाही बताउँछन्।
विदेशी बजारमा पनि फिल्मको प्रदर्शन उत्साहजनक देखिएको छ। निर्माता उपेन्द्र शाहीका अनुसार अमेरिकाबाहेक अन्य देशबाट फिल्मले करिब ७० लाख रुपैयाँ आम्दानी गरिसकेको छ। अब भने अमेरिका बजारमा अप्रिल २४ देखि २०० शोसहित प्रदर्शन सुरु हुँदैछ, जहाँबाट थप आम्दानीको अपेक्षा गरिएको छ।
डिजिटल प्लेटफर्मबाट पनि फिल्मले राम्रो डिल पाएको छ। निर्देशक माइकल चन्दका अनुसार OSR Digital मार्फत डिजिटल राइट्स ७२ लाख रुपैयाँमा विक्री गरिएको छ।
करिब ३ करोड बजेटमा बनेको फिल्म अहिले खर्च उठाएर नाफातर्फ जाने अवस्थामा पुगेको निर्देशक चन्दको दाबी छ। “हामी सुरक्षित हुने बाटोमा छौं,” उनले भने।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको अभिनय रहेको छ।
पछिल्लो समय नेपाली फिल्महरूले अपेक्षाअनुसार व्यापार गर्न नसकेको अवस्थामा ‘राम नाम सत्य’ले भने बजारमा सकारात्मक संकेत दिएको छ। निर्माण टिम फिल्मको प्रदर्शनबाट उत्साहित देखिएको छ।
यो पनि पढ्नुहोस्: अन्तरजातीय प्रेमकथा ‘जदौ’को रिलिज डेट फाइनल, पोस्टर रिलिजसँगै चुलियो चर्चा
