Karnali International Film Festival (KIF), राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्मका लागि दर्ता आह्वान

Karnali International Film Festival (KIF) को तेस्रो संस्करणअन्तर्गत अवार्ड समारोहका लागि आवेदन खुला गरिएको छ। इच्छुक फिल्मकर्मीले मे १५, २०२६ भित्र आफ्नो फिल्म दर्ता गराउन सक्नेछन्।


Karnali International Film Festival

सिनेमा र पर्यटनलाई एउटै फ्रेममा राख्ने प्रयास ‘Karnali International Film Festival (KIF)’ अब नयाँ चरणमा प्रवेश गरेको छ। तेस्रो संस्करणअन्तर्गत अवार्ड समारोहका लागि आधिकारिक रूपमा आवेदन खुला गरिएको छ, जसले नेपाली मात्र होइन, विश्वभरका फिल्मकर्मीलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।

कर्णाली प्रदेशको सुर्खेत र सल्यानस्थित कुपिण्डे दहमा सम्पन्न पहिलो चरणले १२०० भन्दा बढी सहभागी जुटाएर महोत्सवको प्रभाव देखाइसकेको छ। अब दोस्रो चरणमा, उत्कृष्ट सिर्जनालाई सम्मान गर्ने अवार्ड सेग्मेन्टतर्फ ध्यान केन्द्रित गरिएको छ।

आवेदन कहिलेसम्म?
फिल्म दर्ता गर्ने अन्तिम मिति १५ मे २०२६ तोकिएको छ। प्रतियोगितामा सहभागी हुन चाहने फिल्महरू २०८२ साल वैशाख १ देखि चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भइसकेका हुनुपर्नेछ। यो समयसीमा बाहिरका फिल्महरू भने प्रतिस्पर्धामा समावेश हुने छैनन्।

अवार्डका विधा
महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ८ विधामा अवार्ड प्रदान गरिनेछ:

अन्तर्राष्ट्रिय

  • उत्कृष्ट फिचर फिल्म
  • उत्कृष्ट सर्ट फिल्म

राष्ट्रिय (नेपाली)

  • उत्कृष्ट फिचर फिल्म
  • उत्कृष्ट सर्ट फिल्म
  • उत्कृष्ट वृत्तचित्र
  • उत्कृष्ट अभिनेता
  • उत्कृष्ट अभिनेत्री
  • उत्कृष्ट उदीयमान फिल्ममेकर

आवेदन कसरी दिने?
इच्छुक फिल्मकर्मीले आफ्नो फिल्मको विवरण र आवश्यक कागजातहरू आधिकारिक इमेल karnalifilmfestival@gmail.com मार्फत पठाउन सक्नेछन्।

महोत्सव निर्देशक चक्र बहादुर चन्दका अनुसार, “विश्वभरका उत्कृष्ट कथा र सिनेमा एउटै प्लेटफर्ममा ल्याउनु नै हाम्रो उद्देश्य हो।” यस वर्ष अझै विविध र सशक्त फिल्महरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

कर्णालीको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र कथालाई विश्वसामु पुर्‍याउने यो महोत्सव अहिले नेपाली फिल्म क्षेत्रका लागि महत्त्वपूर्ण अवसर बनेको छ।


यो पनि पढ्नुहोस्: प्रेमकथा लिएर फर्किए घनश्याम लामिछाने, ‘तिमी मेरो म तिम्रो’ घोषणा


SUBSCRIBE 👉