
Kamala Miss Movie First Look Poster
करिब एक दशकपछि निर्देशक निर शाह नेपाली चलचित्र निर्देशनमा पुनः फर्किएका छन्। उनले नयाँ चलचित्र ‘कमला मिस’मार्फत सशक्त कमब्याक गरेका हुन्। साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ चासो बढेको छ।
मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र ‘कमला मिस’मा निर्देशक निर शाह स्वयंले अभिनय गरेका छन्। चलचित्रमा रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई गहिरो मनोवैज्ञानिक भावमा प्रस्तुत गरिएको छ। पोस्टरले चलचित्र रहस्यमय, संवेदनशील र मानसिक द्वन्द्वमा आधारित कथामा केन्द्रित रहेको संकेत गर्छ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन्। विजय मल्लको कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
नेपाली चलचित्र क्षेत्रमा अनुभवी नामका रूपमा चिनिएका निर शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्। त्यसैले ‘कमला मिस’लाई उनको अनुभव, संवेदना र सिर्जनशीलताको नयाँ अध्यायका रूपमा हेरिएको छ।
निर्माण पक्षले ‘कमला मिस’ले नेपाली दर्शकलाई फरक स्वादको मनोवैज्ञानिक कथा र गहिरो सिनेमाटिक अनुभव दिने विश्वास व्यक्त गरेको छ।
यो पनि पढ्नुहोस्: ‘कुम्भ’ लिएर गृह जिल्ला पुगे अशोक आर्यन यादव, स्थानीय कलाकारको साथ र समर्थन
