‘कुम्भ’ लिएर गृह जिल्ला पुगे अशोक आर्यन यादव, स्थानीय कलाकारको साथ र समर्थन

चलचित्र ‘कुम्भ’को प्रचार–प्रसार तीव्र बनाइएको छ। डेब्यु अभिनेता अशोक आर्यन यादवको गृह जिल्ला सप्तरीको राजबिराजमा आयोजित विशेष कार्यक्रममा कलाकार, सञ्चारकर्मी र स्थानीय समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


नेपाली तथा हिन्दी भाषामा निर्माण गरिएको चलचित्र ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको प्रचार–प्रसारलाई तीव्र बनाएको छ। यसैक्रममा डेब्यु अभिनेता अशोक आर्यन यादव को गृह जिल्ला सप्तरीको राजबिराजमा विशेष प्रचारात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

सप्तरी कलाकार संघको आयोजनामा सम्पन्न कार्यक्रममा करिब १५० भन्दा बढी कलाकार, सञ्चारकर्मी तथा स्थानीय समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा अतिथिहरूलाई पदआसनसहित स्वागत गरिएको थियो भने चलचित्र ‘कुम्भ’को टिजर र गीतसमेत सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो।


कुम्भको एक्सन प्याक टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्


कार्यक्रममा अभिनेता अशोक आर्यन यादवले आफूलाई दर्शकमाझ परिचित गराउँदै चलचित्रबारे जानकारी दिएका थिए। उनले ‘कुम्भ’लाई सफल बनाउन दर्शक, शुभचिन्तक तथा स्थानीयवासीसँग सहयोग र समर्थनको अपिलसमेत गरे।

त्यसैगरी, सप्तरी कलाकार संघका अध्यक्ष करण शर्मा र उपाध्यक्ष कामेश्वर परदेशीले चलचित्रको सफल प्रदर्शनको शुभकामना व्यक्त गर्दै फिल्मलाई व्यापक रूपमा दर्शकमाझ पुर्‍याउने प्रतिबद्धता जनाए। कार्यक्रममा प्रमुख अतिथि धनेश्वर यादवले नेपाली चलचित्र क्षेत्रमा नयाँ प्रतिभा र फरक विषयवस्तुको आवश्यकता रहेको उल्लेख गर्दै ‘कुम्भ’ सफल हुने विश्वास व्यक्त गरे। कार्यक्रमलाई भव्य बनाउन सरोज आर्यन यादव र तेजनारायण शर्माले विशेष सहयोग गरेका थिए।


कुम्भको रोमान्टिक गीत ‘स्वर्गकी परी’ को भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


एक्सन–ड्रामामा आधारित चलचित्र ‘कुम्भ’मा अशोक आर्यन यादवसँगै सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको समेत विशेष भूमिका रहेको फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन्। उनले फिल्मका गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन्।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ’को छायांकन तथा सम्पादन स्वयं निर्देशक रणधीर श्रेष्ठले गरेका हुन्। फिल्ममा सम्राट बस्नेत र संजय थापाको द्वन्द्व निर्देशन रहेको छ। निर्माता रणधीर श्रेष्ठ र राजेश साह हुन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन्।

एक्सन, रोमान्स र नयाँ स्वादको मिश्रण बोकेको चलचित्र ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको संयोजनमार्फत नेपाली चलचित्र बजारमा फरक पहिचान बनाउने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।


यो पनि पढ्नुहोस्: सलिन मान बनियाँको ‘युनिभर्सिटी अफ गुण्डाज’बाट जापानकी मीना योशीदा गुरुङ्गको डेब्यु


SUBSCRIBE 👉