
नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक मानिएको पहलअन्तर्गत चलचित्र विकास बोर्डले ७९औं कान्स फिल्म फेस्टिभलमा पहिलोपटक नेपालको आधिकारिक स्टल स्थापना गरेको छ। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा राखिएको उक्त स्टललाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, सह–निर्माण, वितरण तथा छायांकन पर्यटन प्रवर्द्धनको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।
चलचित्र विकास बोर्डद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कान्समा रहेको नेपाल स्टलको स्थानीय व्यवस्थापन बेलायतस्थित नेपाली प्रोडक्सन कम्पनी शाही प्रोडक्सनले गरिरहेको छ। बोर्डका अनुसार यो पहल कुनै एक चलचित्र वा समूहको प्रचारमा सीमित नभई समग्र नेपाली चलचित्र उद्योगलाई विश्व बजारसँग जोड्ने दीर्घकालीन रणनीतिक प्रयास हो।
बोर्डले फागुन २५ गते सार्वजनिक सूचना जारी गर्दै कान्स स्टलमा समावेश हुन इच्छुक चलचित्रकर्मीहरूलाई पोस्टर, ट्रेलर तथा प्रचार सामग्री उपलब्ध गराउन आग्रह गरेको जनाएको छ। नेपाललाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सुरुदेखि नै खुला र समन्वयमुखी प्रक्रिया अपनाइएको बोर्डको भनाइ छ।
यसैबीच विभिन्न अन्तर्राष्ट्रिय विधामा छनोट भएको नेपाली चलचित्र ‘तिनीहरु’ (Elephant in the Fog) लाई नेपाल स्टलमा विशेष प्राथमिकताका साथ समेट्ने तयारी गरिएको थियो। चलचित्रका निर्माता अनुप पौडेल र निर्देशक अविनाशविक्रम शाहसँग बोर्डले विशेष छलफल गर्दै स्टलमा प्रमुख रूपमा प्रस्तुत गर्ने योजना बनाएको विज्ञप्तिमा उल्लेख छ।
बोर्डका अनुसार स्टलको करिब ६० प्रतिशत स्थान ‘तिनीहरु’का प्रचार सामग्रीका लागि छुट्याइएको थियो। साथै, नेपाल पर्यटन बोर्डले उक्त चलचित्रको सम्मानमा विशेष नेटवर्किङ पार्टी आयोजना गर्ने योजना पनि अघि बढाएको जनाएको छ।
तर अन्तिम समयसम्म आवश्यक प्रचार सामग्री पूर्ण रूपमा प्राप्त नभएकाले उपलब्ध सामग्रीकै आधारमा स्टल व्यवस्थापन गरिएको बोर्डले स्पष्ट पारेको छ। यसलाई कुनै आरोपको रूपमा नभई समय, व्यवस्थापन र सामग्री उपलब्धताको व्यावहारिक अवस्थाका रूपमा बुझ्न बोर्डले आग्रह गरेको छ।
सरकारको वैदेशिक भ्रमणसम्बन्धी तीन महिने नीतिगत व्यवस्थाका कारण अन्तिम समयमा प्रतिनिधि पठाउन कठिन भएको उल्लेख गर्दै बोर्डले स्थानीय साझेदारका रूपमा शाही प्रोडक्सनलाई १५ दिनसम्म स्टल व्यवस्थापनको जिम्मेवारी दिएको जनाएको छ।
सामाजिक सञ्जालमा आएका टिप्पणी, सुझाव र चासोलाई सकारात्मक रूपमा लिएको बोर्डले आगामी वर्षहरूमा नेपालको प्रस्तुति अझ व्यवस्थित, प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धता जनाएको छ।
चलचित्र विकास बोर्डका अनुसार कान्समा नेपालको पहिलो आधिकारिक स्टल केवल उपस्थिति जनाउने प्रयास मात्र होइन, नेपाली चलचित्रलाई विश्व बजार, सह–निर्माण, अन्तर्राष्ट्रिय वितरण, छायांकन पर्यटन र सांस्कृतिक कूटनीतिसँग जोड्ने दीर्घकालीन यात्राको महत्वपूर्ण सुरुवात हो।


