
चलचित्र पत्रकार संघ नेपाल ले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको छ।
नेपाली चलचित्र, संगीत, कला, साहित्य तथा सांस्कृतिक गतिविधिहरू विश्वभर विस्तार हुँदै गएको वर्तमान सन्दर्भमा संघले प्रवासमा रहेका नेपाली चलचित्र पत्रकार तथा सर्जकहरूलाई संस्थागत रूपमा जोड्ने लक्ष्यसहित यो महत्वपूर्ण पहल थालेको जनाएको छ।
हालै सम्पन्न कार्यसमिति बैठकले विभिन्न देशमा च्याप्टर गठनका लागि संयोजकहरू नियुक्त गर्ने निर्णय गरेको हो। संघका अनुसार यो कदमले नेपाली चलचित्र पत्रकारितालाई प्रवासी नेपाली समुदायसँग मात्र नभई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा सञ्चार सञ्जालसँग पनि जोड्ने आधार तयार गर्नेछ।
नयाँ निर्णयअनुसार अमेरिकाका लागि दाङ शाखाका संस्थापक अध्यक्ष किसन रेग्मी, क्यानडाका लागि संघका पूर्व उपाध्यक्ष श्याम अर्याल, जापानका लागि पूर्व सचिव उत्तम गौडेल, युरोप क्षेत्रका लागि मकवानपुर शाखाका पूर्व अध्यक्ष मणिराज गौतम, अष्ट्रेलियाका लागि सदस्य दीपेन्द्र घिमिरे, बेलायतका लागि सदस्य दीपश्न लुईटेल तथा कतारका लागि चलचित्र पत्रकार कमल साउदलाई संयोजकको जिम्मेवारी दिइएको छ।
संघका अध्यक्ष समीर बलामी का अनुसार पछिल्ला वर्षहरूमा विदेशमा नेपाली चलचित्र प्रदर्शन, संगीत कार्यक्रम, साहित्यिक गतिविधि, सांस्कृतिक उत्सव तथा नेपाली फिल्मको अन्तर्राष्ट्रिय छायांकन उल्लेखनीय रूपमा बढेको छ । यही परिवर्तित परिवेशलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको आवश्यकता महसुस गरिएको उनले बताए।
उनका अनुसार विदेश च्याप्टरले नेपाली चलचित्र पत्रकारिताको प्रतिनिधित्व मात्र गर्ने छैन, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, बजार विस्तार, सहकार्य, सूचना आदानप्रदान तथा सांस्कृतिक कूटनीतिको माध्यमका रूपमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ।
यसअघि युनाईटेड अरब ईमिरेट्स, Dubai मा वरिष्ठ चलचित्र पत्रकार कमल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय च्याप्टर गठन भइसकेको छ। संघका महासचिव गोपिकृष्ण चापागाईं का अनुसार आगामी एक वर्षभित्र तोकिएका सबै देशमा च्याप्टर गठन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
संघले यो अभियानलाई नेपाली चलचित्र पत्रकारिताको इतिहासमा नयाँ अध्यायका रूपमा लिएको छ। साथै, विश्वभर छरिएर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा सर्जकहरूलाई एकै सञ्जालमा आबद्ध गर्दै नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने दीर्घकालीन रणनीतिको महत्वपूर्ण हिस्सा भएको जनाएको छ।
