फिल्म निर्माणमा अभिनेता विपिन कार्की, विजय कुमारको निर्देशनमा ४ करोड बजेटको फिल्म

अभिनेता विपिन कार्कीले नयाँ फिल्म निर्माण गर्ने भएका छन्। वरिष्ठ पत्रकार तथा लेखक विजय कुमारले निर्देशन गर्ने फिल्ममा विपिन स्वयं मुख्य भूमिकामा देखिनेछन् भने फिल्मको बजेट ३ देखि ४ करोड रुपैयाँ रहने बताइएको छ।


Bipin Karki & Vijay Kumar

लोकप्रिय अभिनेता विपिन कार्की अब फिल्म निर्माणमा पनि सक्रिय हुने भएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूले नयाँ फिल्म निर्माण गर्न लागेको जानकारी दिएका हुन्।

विशेष कुरा के छ भने, उक्त फिल्मको लेखन तथा निर्देशन वरिष्ठ पत्रकार, लेखक तथा प्रस्तोता विजय कुमार ले गर्नेछन्। सार्वजनिक गरिएको तस्बिरमा विपिन र विजय कुमारबीचको भेटघाट देख्न सकिन्छ, जसले नेपाली फिल्म वृत्तमा नयाँ सहकार्यको चर्चा सुरु गरेको छ।

सामाजिक सञ्जालमा विपिनले विजय कुमारसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै लेखेका छन्, “आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन, यसले आगामी दिनमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो। भविष्यमा हामीले सँगै केही अर्थपूर्ण र स्मरणीय काम गर्ने योजनाले मनमा नयाँ ऊर्जा र उत्साह थपेको छ।”

विपिनको आफ्नै कम्पनी लाइट वेन्डर्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको अनुमानित बजेट ३ देखि ४ करोड रुपैयाँ रहने बताइएको छ। फिल्ममा विपिन स्वयं मुख्य भूमिकामा देखिनेछन् भने अन्य कलाकारको चयन प्रक्रिया अझै बाँकी रहेको जनाइएको छ।

ड्रामा जनरामा निर्माण हुने यस फिल्मलाई लिएर अर्को विशेष योजना पनि सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको कथामा आधारित आख्यान पुस्तक पनि प्रकाशन गर्ने तयारी गरेको छ। फिल्म प्रदर्शनपछि पुस्तक संस्करण प्रकाशन गर्ने जिम्मेवारी प्रकाशन संस्था फाइनप्रिन्ट ले लिने बताइएको छ।

पछिल्लो समय अभिनयसँगै व्यवसायिक क्षेत्रमा पनि सक्रिय रहेका विपिन फिल्म कम्पनीको व्यवस्थापनमा व्यस्त छन्। उनको कम्पनीले चलचित्र निर्माणसँगै प्राविधिक उपकरण व्यवस्थापनलगायतका सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ।

विजय कुमारको निर्देशन र विपिन कार्कीको निर्माण तथा अभिनय रहने यो प्रोजेक्टलाई नेपाली चलचित्र क्षेत्रको चासोका साथ हेरिएको छ।

SUBSCRIBE 👉