
भारतीय चर्चित डान्सर तथा कोरियोग्राफर Terence Lewis नेपाल आएका छन्। ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को ग्राण्ड फिनालेका लागि काठमाडौं आइपुगेका उनले नेपाली संस्कृति र प्रतिभाको खुलेर प्रशंसा गरेका छन्।
नेपाल आगमनसँगै ढाका टोपी लगाएर र नेपाली राष्ट्रिय झन्डा ओढेर सार्वजनिक भएका टेरेन्सले सामाजिक सञ्जालमार्फत नेपालप्रतिको आफ्नो सम्मान व्यक्त गरेका हुन्। उनले नेपालको कला, संस्कृति र यहाँका प्रतिभाशाली नर्तकहरूको प्रशंसा गर्दै नेपाललाई प्रतिभाले भरिएको देशको संज्ञा दिएका छन्।
विशेषगरी उनले नेपाली नृत्यकर्मी Samarpan Lama को प्रतिभाबाट आफू निकै प्रभावित भएको बताएका छन्। समर्पणको प्रस्तुति अन्तर्राष्ट्रिय स्तरको रहेको उल्लेख गर्दै उनले नेपाली युवाहरूमा विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको बताए।
त्यसैगरी अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता जितेर नेपाललाई विश्वमाझ चिनाएकी Teriya Magar को पनि उनले खुलेर प्रशंसा गरेका छन्। टेरियाले सानै उमेरमा हासिल गरेको सफलता प्रेरणादायी रहेको भन्दै टेरेन्सले उनको यात्रा नेपाली नृत्य क्षेत्रका लागि गौरवको विषय भएको बताए।
टेरेन्सको नेपालप्रेम र नेपाली कलाकारप्रतिको सम्मानले सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
