
‘World of Dance Nepal 2026’ घोषणा: Terence Lewis ग्रान्ड जज
विश्वव्यापी रूपमा ख्यातिप्राप्त नृत्य प्रतियोगिता World of Dance को नेपाली संस्करण World of Dance Nepal 2026 औपचारिक रूपमा सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको दोस्रो संस्करण घोषणा गरिएको हो।
सन् २००८ मा अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएको ‘World of Dance’ आज ५० भन्दा बढी देशमा फैलिसकेको छ। अब यही प्लेटफर्ममार्फत नेपाली डान्सरहरूलाई विश्वस्तरमा चिनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रमको सबैभन्दा ठूलो आकर्षणका रूपमा बलिउडका चर्चित कोरियोग्राफर Terence Lewis लाई ‘सेलिब्रेटी ग्रान्ड जज’ घोषणा गरिएको छ। ‘Dance India Dance’ र ‘India’s Best Dancer’ जस्ता शोबाट परिचित उनी नेपालको संस्करणमा जोडिनु आफैंमा ठूलो उपलब्धि मानिएको छ।

Terence Lewis to Judge World of Dance Nepal 2026.
निर्णायक मण्डलमा ‘Wild Ripperz Crew’ का सदस्य Kiran Thapa र शोका कलात्मक निर्देशक JD Tamang पनि रहनेछन्। अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र अनुभव बोकेका यी व्यक्तित्वले प्रतियोगिताको स्तरलाई अझ उचाइ दिने अपेक्षा गरिएको छ।
कार्यक्रमका राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली प्रतिभालाई आफ्नै देशमै अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म दिन यो प्रयास गरिएको बताए। उनका अनुसार यस प्रतियोगितामा नेपाली मौलिक संस्कृति र नृत्य शैलीलाई विशेष प्राथमिकता दिइनेछ।
अमेरिकी दूतावासले समेत कार्यक्रममा सहकार्य गरेको छ। लस एन्जलसबाट सुरु भएको यो प्लेटफर्ममा नेपाल जोडिनु सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण पाटो भएको दूतावासका प्रतिनिधिले बताएका छन्।

Global Dance Platform Arrives: World of Dance Nepal 2026 Launches
कार्यक्रममा कलाकारहरूको उल्लेखनीय उपस्थिति पनि देखियो। दयाहाङ राई ले नृत्यलाई अभिव्यक्तिको शक्तिशाली माध्यम भन्दै नयाँ प्रतिभालाई आफ्नो संस्कृतिसँग जोडिन आग्रह गरे। बुद्धि तामाङ ले कला र संस्कृतिको सम्बन्धबारे आफ्नो धारणा राखे। यस्तै, ‘फेस अफ World of Dance Nepal’ कविता नेपाली ले यो प्रतियोगिता लुकेका प्रतिभाका लागि ठूलो अवसर भएको बताइन्।
प्रतियोगिता चार डिभिजनमा सञ्चालन हुनेछ। अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन। प्रत्येक विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। तर सबैभन्दा ठूलो पुरस्कार भनेको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर हो।
देशभरका प्रतिभालाई समेट्न पाँच सहरमा अडिसन हुनेछन्, नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरी। त्यसपछि सेमिफाइनल र ग्रान्ड फिनालेमार्फत विजेता छनोट गरिनेछ।
‘World of Dance Nepal 2026’ केवल प्रतियोगिता मात्र होइन। यो नेपाली प्रतिभालाई विश्वमञ्चमा पुर्याउने एउटा ठूलो प्लेटफर्म हो।
यो पनि पढ्नुहोस्:
सामाजिक सञ्जालकी स्टार अब ठूलो पर्दामा, जिग्री र काकुको नयाँ फिल्ममा प्रशंसाको इन्ट्री
