सुन्दर खनालको नयाँ शो ‘कमेडी बाज’ घोषणा, टिजरमै एक्सन र हाँसो

सुन्दर खनाल ले नयाँ हास्य शो ‘कमेडी बाज’ घोषणा गरेका छन्। टिजर सार्वजनिक गर्दै उनले शो ‘ब्याटल’ र रोस्टिङ फर्म्याटमा आधारित हुने संकेत दिएका छन्। शो वैशाखको दोस्रो सातादेखि प्रसारण हुनेछ।


‘कमेडी दरबार’बाट लोकप्रियता कमाएका सुन्दर खनाल अब आफ्नै हास्य शो लिएर दर्शकमाझ आउन लागेका छन्। उनले ‘कमेडी बाज’ नामक नयाँ शोको टिजर सार्वजनिक गर्दै प्रोजेक्टबारे पहिलो झलक दिएका हुन्।

सार्वजनिक टिजरमा एक्सन स्टाइललाई विशेष प्राथमिकता दिइएको देखिन्छ, जसले शो सामान्य स्ट्यान्डअपभन्दा फरक हुने संकेत गर्छ। यद्यपि, आधिकारिक रूपमा फर्म्याटबारे विस्तृत जानकारी खुलाइएको छैन। तर स्रोतका अनुसार ‘कमेडी बाज’ रोस्टिङ शैलीमा आधारित हुने बताइएको छ, जहाँ विभिन्न क्षेत्रका पाहुनालाई निमन्त्रणा गरेर हास्य प्रस्तुत गरिनेछ।


यो पनि पढ्नुहोस्: हाँसोको डोज ‘कमेडी दरबार’ तेस्रो सिजन, सेट र जज प्यानलमा ठूलो परिवर्तन


स्वयं सुन्दर खनालका अनुसार शोको मूल अवधारणा ‘ब्याटल’ फर्म्याटमा आधारित छ। “अहिलेलाई यत्ति भनौं, बाँकी कुरा एपिसोडमै देखिन्छ,” उनले संकेतपूर्ण शैलीमा भनेका छन्।

शोमा सुन्दर खनालसँगै आरती थापा होस्टको रूपमा देखिनेछिन्। साथै पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बीटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, शुसान्त बस्याल, आशिष न्यौपाने र निश्चल अर्याल लगायतका कमेडियनहरूको सहभागिता रहनेछ। वैशाखको दोस्रो सातादेखि शो सुरु गर्ने योजना बनाइएको छ।

रोचक कुरा के भने, ‘कमेडी बाज’मा देखिने अधिकांश कलाकार ‘कमेडी दरबार’सँग पनि आबद्ध छन्। तर उनीहरूले दुबै शोमा एकसाथ देखिने स्पष्ट पारेका छन्।

‘कमेडी बाज’ को टिजर हेर्नुहोस्

SUBSCRIBE 👉