
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रु नेपाल प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक भएको छ। असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको यो गीतले आमाप्रतिको सम्मान, माया र भावनात्मक सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर सुन्न सकिन्छ। गीतमा डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ। शब्द र संगीतको संयोजनले गीतलाई भावनात्मक बनाएको छ भने गीतले फिल्मको कथावस्तुको मूल संवेदनालाई पनि बोकेको देखिन्छ।
गीतले आमाको महिमालाई मात्र बयान गर्दैन, वृद्धाश्रममा बस्न बाध्य आमाहरूको तितो यथार्थलाई पनि उजागर गरेको छ। यही कारण गीत दर्शकको मन छुने अपेक्षा गरिएको छ।
गीतको भिडियोमा अतिथि कलाकारका रूपमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा देखिएका छन्। उनीहरूसँगै फिल्मका मुख्य कलाकारहरू आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंह पनि गीतमा फिचर्ड छन्।
निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ। फिल्ममा बिष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन रहेको छ।
गीतको भिडियो निर्माणमा टिमले विशेष मेहनत गरेको देखिन्छ। कोरियोग्राफर रामजी लामिछानेले गीतको भावअनुसार दृश्यहरू तयार पारेका छन्, जसले गीतलाई अझ प्रभावशाली बनाएको छ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापा लगायतका कलाकारको अभिनय छ।
फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन्। त्यस्तै, लेखनमा गोविन्द फुयाल र शिशिर चालिसे छन् भने छायांकन विवेक बस्नेत र ईश्वर सिंखेमानले गरेका छन्। फिल्मको प्रोडक्सन म्यानेजमेन्ट ईश्वर घिमिरेले सम्हालेका छन्।
निर्माण पक्षले केही दिनअघि फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसारलाई तीव्र बनाएको थियो। अब पहिलो गीत सार्वजनिक भएपछि फिल्मप्रतिको चासो अझ बढ्ने अपेक्षा गरिएको छ।
तीन वर्षअघि प्रदर्शनमा आएको फिल्म‘झिंगे दाउ’ले बक्स अफिसमा सुपरहिट व्यापार गरेको थियो। त्यसकै सिक्वेलका रूपमा तयार भएको ‘झिंगे दाउ २’ले पनि असोज २ गतेदेखि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्दैछ।
