
ग्ल्यामर नेपाल, काठमाडौं । राजधानीको व्यापारिक केन्द्रका रुपमा चिनिँदै आएको बागबजारमा शनिवारबाट सुविधासम्पन्न नयाँ फिल्महल सञ्चालनमा आएको छ । नेपाल चलचित्र संघका सहमहासचिवसमेत रहेका देवेन्द्र खड्गीले बागबजारमा सिटी म्याक्स सिनेमाज नामक हल सञ्चालन गरेका हुन् ।
हलको शुभारम्भ गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले राम्रा फिल्मको निर्माणसँगै सुविधासम्पन्न हल निर्माण हुनु आफैमा खुशीको कुरा भएको बताए । शुभारम्भ कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, एफडी कम्पनीका अध्यक्ष प्रदिप उदय, नेपाल चलचित्र संघका महासचिव मधुसुदन प्रधानलगायतले हलको सफलताको कामना गरेका थिए ।
हलका प्रबन्ध निर्देशक खड्गीका अनुसार शनिबारबाटै हलमा फिल्म ‘कोहिनूर’ नियमित लाग्नेछ । उनले कोहिनूर, ताण्डव र सिटी म्याक्स हलको तर्फबाट एकसाताको कूल ग्रस रकमको २० प्रतिशत रकम चलचित्र पत्रकार संघको सहयोगार्थ प्रदान गर्ने घोषणासमेत गरे । खड्गीले कूल १ सय २२ सीट क्षमता रहेको हलमा डल्वी सराउण्डेड साउण्ड सिष्टमका साथै अत्याधुनिक बस्ने सुविधासमेत रहेको जनाए । उनका अनुसार चाँडै नै अर्को हल पनि सञ्चालनमा ल्याइनेछ । हल शुभारम्भको अवसरमा फिल्म ‘ताण्डव’को शो गरिएको थियो ।

