
फिल्ममेकर दीपक रौनियारले अन्तर्राष्ट्रिय फिल्म यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेका छन्। उनको छोटो फिल्म Private Property प्रतिष्ठित Locarno Film Festival 2026 मा छनोट भएको छ।
लोकार्नो फिल्म फेस्टिभलको आधिकारिक सूचीअनुसार Private Property लाई Pardi di Domani – Concorso Corti d’Autore सेक्सनमा समावेश गरिएको छ। अमेरिका, नेपाल र फ्रान्सको सहकार्यमा बनेको यो फिल्मले लोकार्नोमा वर्ल्ड प्रिमियर गर्नेछ।
रौनियारले सामाजिक सञ्जालमा खुशी बाँड्दै यो फिल्म गत जनवरीमा नर्थ क्यारोलिनामा छायांकन गरिएको बताएका छन्। उनी २०२१ देखि २०२४ सम्म UNCW Film Studies Department मा अध्यापनसँग जोडिएका थिए। सोही ठाउँमा फर्किएर छोटो फिल्म बनाउनु उनका लागि व्यक्तिगत र सिर्जनात्मक दुवै हिसाबले अर्थपूर्ण देखिन्छ।
पोस्टमा उनले Boston University को College of Communication, UNCW Film Studies, कलाकार, प्राविधिक टोली र सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिएका छन्। उनले यो फिल्म धेरै मानिसको सहयोग, फिल्मप्रतिको प्रेम र सहकार्यबाट सम्भव भएको उल्लेख गरेका छन्।

Asha Magrati & Deepak Rauniyar
रौनियारको अर्को महत्वाकांक्षी प्रोजेक्ट The Taste of Salt पनि अन्तर्राष्ट्रिय चासोमा छ। चर्चित नेपाली सेफ सन्तोष शाहको वास्तविक जीवनबाट प्रेरित यो कुलिनरी कमिङ-अफ-एज फिचर फिल्म Berlinale Co-Production Market 2026 का १९ आधिकारिक फिचर प्रोजेक्टमध्ये छनोट भएको थियो। करिब ४०० आवेदनमध्येबाट यो प्रोजेक्ट छनोट भएको हो।
दीपक रौनियार नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय महोत्सवसम्म पुर्याउने प्रमुख फिल्ममेकरमध्ये पर्छन्। उनको डेब्यु फिचर Highway सन् २०१२ मा Berlinale मा पुगेको थियो। त्यस्तै, Pooja, Sir सन् २०२४ को Venice Film Festival को Orizzonti सेक्सनमा छनोट भएको थियो।
Locarno Film Festival 2026 आगामी ५ देखि १५ अगस्टसम्म स्विट्जरल्यान्डमा आयोजना हुँदैछ। यस वर्ष Pardi di Domani सेक्सनमा २९ देशका ४० वर्ल्ड प्रिमियर फिल्महरू समावेश छन्।
नेपाली सिनेमाका लागि Private Property को छनोट केवल एउटा फिल्मको उपलब्धि मात्र होइन। यो नेपाली फिल्ममेकरहरूको कथा, दृष्टि र सिर्जनात्मक आवाज विश्वका महत्वपूर्ण फिल्म मञ्चहरूमा सुनिन थालेको संकेत पनि हो।
READ IN ENGLISH: Deepak Rauniyar’s Private Property Selected for Locarno Film Festival
