
चलचित्र ‘बाः एक योद्धा’ का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन्। निर्माण टिमले सार्वजनिक गरेका पोस्टरले फिल्मलाई भावनात्मक पारिवारिक कथाको रूपमा प्रस्तुत गर्दै एउटा सुखी परिवारको जीवनमा अचानक आउने उतारचढावको संकेत गरेका छन्।
पहिलो पोस्टरमा फिल्मका मुख्य कलाकारहरू पारिवारिक तस्बिर खिचाइरहेको शैलीमा देखिएका छन्। पोस्टरमा दिव्यदेव पन्त र झरना थापा अगाडि बसेका छन् भने सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा पछाडि उभिएका छन्। घरको आँगन, रातो माटोले लिपिएको वातावरण, हँसिला अनुहार र साथमा देखिएको कुकुरले नेपाली मध्यमवर्गीय परिवारको आत्मीयता र इमानदार सम्बन्धको अनुभूति गराउँछ।
दसैँको माहोल सम्झाउने परिवेशले पोस्टरलाई अझ नेपाली बनाएको छ। परिवारका सदस्यहरूबीचको न्यानोपन, सादगीपूर्ण पहिरन र घरायसी वातावरणले फिल्म पूर्ण पारिवारिक स्वादको हुने संकेत दिन्छ।
तर, दोस्रो पोस्टरले पहिलो पोस्टरको खुसीलाई एकैपटक तनावमा बदलिदिन्छ। झरना थापा र सुहाना थापाको अनुहारमा कौतुहलता र चिन्ता देखिन्छ भने दिव्यदेव पन्त र अनिल बुढाथोकीको अनुहारमा आक्रोश झल्किएको छ। यही पोस्टरमा माओत्से गुरुङ कुटिल मुस्कानसहित देखिएका छन्, जसले उनको पात्रप्रति थप रहस्य सिर्जना गरेको छ। यद्यपि, उनको चरित्र कस्तो छ भन्ने विषय निर्माण टिमले खुलाएको छैन।
सार्वजनिक पोस्टर हेर्दा ‘बाः एक योद्धा’ एउटा सुखी परिवारमा आइपर्ने अप्रत्याशित घटनापछि सुरु हुने संघर्षको कथा हुनसक्ने अनुमान गर्न सकिन्छ। फिल्मको केन्द्रमा नेपाली समाजमा बुवाले सन्तानको भविष्यका लागि गर्ने त्याग, जीवनभर झेल्ने चुनौती र परिवारका लागि उठाउने जिम्मेवारी रहेको बताइएको छ।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रलाई आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो। फिल्मको कथा र पटकथा पनि लम्साल आफैँले लेखेका हुन्। संगीतकार तथा सर्जकका रूपमा परिचित लम्सालको यो फिचर फिल्म निर्देशन डेब्यु हो।
चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा, अनिल बुढाथोकी र माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।
‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। उनले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्।
भदौ १९ गते कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको छेको पारेर प्रदर्शनमा आउन लागेको ‘बाः एक योद्धा’ले नामजस्तै बुवाको संघर्ष, भावना र परिवारप्रतिको समर्पणलाई पर्दामा ल्याउने अपेक्षा गरिएको छ। फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
