मिथोलोजिकल चलचित्र ‘दुर्गा’ बनाउँदै निर्देशक सम्राट बस्नेत

सम्राट बस्नेतले नयाँ मिथोलोजिकल चलचित्र ‘दुर्गा’ निर्देशन गर्ने भएका छन्। थिम पोस्टर सार्वजनिक गरिएको चलचित्रको छायांकन असोजको पहिलो सातादेखि सुरु हुनेछ।

निर्देशक सम्राट बस्नेतले नयाँ चलचित्र ‘दुर्गा’ निर्माण तथा निर्देशन गर्ने घोषणा गरेका छन्। चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै उनले आफ्नो नयाँ निर्देशन परियोजनाबारे जानकारी दिएका हुन्।

सार्वजनिक पोस्टरमा दुर्गा मन्दिरको ढोकाअगाडि रातो पहिरनमा एक युवती एक्लै उभिएको देखिन्छ। मन्दिरअगाडि राखिएको त्रिशूल, रातो रङको प्रयोग र रहस्यमय वातावरणले चलचित्रको कथा धर्म, शक्ति र द्वन्द्वसँग जोडिन सक्ने संकेत गर्छ।

चलचित्रको नाम ‘दुर्गा’ राखिएकाले कथा कुनै महिला पात्र वरिपरि केन्द्रित हुन सक्ने अनुमान गर्न सकिन्छ। यद्यपि, निर्माण पक्षले पोस्टरमा देखिएकी पात्रको परिचय र कथाको विस्तृत विषयवस्तु सार्वजनिक गरेको छैन।

चलचित्रका कलाकार तथा प्राविधिक टोलीबारे पनि अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन। निर्देशक बस्नेतका अनुसार मुख्य कलाकारबारे चाँडै घोषणा गरिनेछ भने केही कलाकार अडिसनमार्फत छनोट गर्ने तयारी छ।

“चाँडै नै हामी चलचित्रका मुख्य कलाकारबारे जानकारी दिनेछौँ। केही कलाकार अडिसनबाट छान्ने हाम्रो तयारी छ,” निर्देशक बस्नेतले भने, “सिनेमा मिथोलोजिकल हुनेछ।”

कुस्मंडा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निश्चल ढुंगानाले लेखेका हुन्।

९० दिनको छायांकन तालिका तय गरिएको चलचित्र काठमाडौं, पोखरा र चितवनका विभिन्न स्थानमा खिचिनेछ। निर्माण पक्षका अनुसार असोजको पहिलो सातादेखि छायांकन सुरु हुनेछ।

सम्राट बस्नेत निर्देशित पछिल्लो चलचित्र ‘लाखे’ केही दिनअघि मात्रै युट्युबमा रिलिज गरिएको थियो।