चलचित्र ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’मा न्यान्सी र रिस्ताले जमाए तीजको माहोल

फिल्म ‘अक्षरा’को लोकलयमा आधारित तीज गीत ‘नाचौँ बरिलै’ सार्वजनिक भएको छ। समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा न्यान्सी खड्का र रिस्ता अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ।


फिल्म ‘अक्षरा’मा समावेश तीज गीत ‘नाचौँ बरिलै’ सार्वजनिक भएको छ। निर्माण पक्षले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा आयोजित कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरेको हो।

लोकलयमा आधारित गीतमा गायिका समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ। सुरेन्द्र रानाले लेखेको गीतमा कर्णराज गिरीले संगीत भरेका छन्। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्री न्यान्सी खड्का र रिस्ता अधिकारीले नृत्य गरेका छन्। तीजको सांस्कृतिक र उत्सवमय भाव प्रस्तुत गरिएको भिडियोमा उनीहरूको नृत्यलाई कार्यक्रममा उपस्थित पत्रकार तथा फिल्मकर्मीले रुचाएका थिए। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

विनयराज पौडेल निर्देशित फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने ‘ल्याग्री दादा’ र सृष्टि खड्काको अभिनय छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिनेछन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेको फिल्ममा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माताका रूपमा रहेका छन्।

फिल्मको मूल कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन्। पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले संयुक्त रूपमा तयार पारेका छन्।

फिल्मका गीतमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत छ। अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीले विभिन्न गीतमा स्वर दिएका छन्।

दिपेन बस्न्यातको छायांकन रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन छ। फिल्मलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।

फिल्मका गीत तथा सम्पूर्ण डिजिटल प्रचार सामग्री मुभिज डिजिटेनमेन्टमार्फत सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ। केही दिनअघि फिल्म निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधि प्रदीप धामी, पुष्कर शर्मा घिमिरे तथा आशिष तामाङबीच औपचारिक सम्झौता भएको थियो।

आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने फिल्मको बढ्दो चर्चाले निर्माण पक्ष उत्साहित बनेको छ।