चिनियाँ फिल्ममाथि छलफल


Chinese-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्मबारे छलफल गराउने उद्देश्यले हरेक सोमबार मण्डला थियटरमा आयोजना गरिने ‘मन्डे मुभिज’ मा चिनियाँ निर्देशक तियान झुवाङ–झुवाङले निर्देशन गरेको फिल्म ‘द ब्यु काइट’प्रर्दशन गरियो ।

दुई घण्टा २० मिनेटको फिल्म प्रदर्शनपछि फिल्ममाथि छलफल समेत भएको थियो । फिल्म समिक्षक यज्ञश र काठमाडौं अन्तराष्ट्रिय पर्वतारोहण फिल्म महोत्सव निर्देशक रम्यता लिम्बु अन्तरक्रियामा सहभागि भएका थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा फिल्मको विषयवस्तु, प्रविधि निर्देशकीय क्षमता र अभिनयमाथि अन्तरक्रिया गरिएको थियो ।

यो फिल्म टाइट्यु नामक किशोरको दृष्टिकोणमाथि केन्द्रित छ । बेइजिङमा सन् १९५० देखि ६० को दशकमा हुर्किरहेका टाइट्युले सय फूल अभियान, सांस्कृतिक क्रान्ति र अधिकार विरोध आन्दोलनले गर्दा सुरक्षाको लागि सौतेनी बुबाको सहारामा पुग्नुपर्दाको घटनाक्रम फिल्ममा देखाइएको छ । फिल्ममा पितृसत्ताको श्रृखलालाई प्रस्तुत गरिएको छ ।

फिल्म समिक्षक यज्ञशले फिल्मभित्र सांकेतिक किसिमको भावलाई दृश्य भाषाको माध्यमले प्रयोग भएको जानकारी गराए । काठमाडौं अन्तराष्ट्रिय पर्वतारोहण फिल्म महोत्सव निर्देशक रम्यता लिम्बुले फिल्ममा सामान्य बोलीचालीको भाषा अभिव्यक्त गर्न कठिन हुने बताइन् ।