पल र पुजाको प्रेममा कसको अवरोध ?


यो वर्षको बहुप्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु’को ट्रेलर सार्वजनिक भएको छ। अढाई मिनेट लामो ट्रेलरमा पल शाह र पुजा शर्माको प्रेम अनि परिवारको अवरोधलाई प्राथमिकता दिइएको छ। साथै गीत संगीतलाई पनि उत्तिकै स्थान दिइएको छ।

ट्रेलरबाट निर्देशक सुदर्शन थापाले फिल्म प्रतिको चासोलाई अझ बढाएका छन्। अझ ट्रेलरमा नायक पलको तीन भिन्न लुक्सले दर्शककालागि थप कौतुहलता पैदा गरेको छ। ट्रेलरमा वृद्ध र युवक मात्र होइन, महिला झैं मेकअप गरेको लुक्समा पललाई देख्न पाइन्छ। नाईं नभन्नु ल ४ बाट औसत प्रतिक्रिया बटुलेका पलले यो फिल्मबाट दर्शकको मनमा छक्का हान्ने विश्वास गर्न सकिने आधार दिएको छ ट्रेलरले। त्यस्तै, प्रेमगीत बाट चर्चा कमाएकी पुजाले आफ्नो साखलाई यसपटक पनि निरन्तरता दिने छनक दिएकी छन्। यो फिल्ममा पुजा र पलको जोडी जर्बजस्त देखिएको छ।

ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

सुदर्शन थापा, लभस्टोरी फिल्म बनाउन माहिर मानिएका निर्देशक हुन्। म यस्तो गीत गाउँछुमा उनले आफ्नो यही अब्बलता देखाउने प्रयास गरेका छन्। ट्रेलरले शुभसंकेत गरेको छ। अब फिल्मको बक्स अफिस कलेक्सन कस्तो हुनेछ ? त्यो थाहा पाउन असार ३० गतेसम्म कुर्नुपर्नेछ।

यतिबेला “म यस्तो गीत गाउँछु” र “प्रेमगीत २” को चर्का चर्की छ। फुटेको टिम भएकाले पनि कस्को फिल्म राम्रो हुने भन्ने सवाल तीव्र रुपमा उठेको हो। तपाईंलाई म यस्तो गीत गाउँछुको ट्रेलर कस्तो लाग्यो ? पुजाको जोडी पलसगँ सुहाएको छ की प्रेमगीतमा प्रदीप खड्कासँग सुहाएको थियो ? कमेन्ट लेख्न नभुल्नु होला।