
ग्रामीण कथालाई केन्द्रमा राख्दै आयोजना हुँदै आएको ग्रामीण चलचित्र महोत्सवले यस वर्षका लागि छनोट भएका फिल्महरूको आधिकारिक सूची सार्वजनिक गरेको छ। कथानक, भाषाभाषी र छोटा फिल्म गरी तीन विधामा अन्तिम लाइनअप घोषणा गरिएको हो।
कथानक फिल्मतर्फ ‘मोहर’, ‘गुन्यु चोलो’, ‘सिटामोल’, ‘माइतीघर’ र ‘कोशेढुंगा’ छनोटमा परेका छन्। भाषाभाषी विधामा ‘इहिरी’, ‘सेमिफुङ’, ‘नाकछोङ’, ‘सब्रे म्रु’ र ‘बहौरिया’ रहेका छन्।
त्यसैगरी छोटा फिल्मतर्फ ‘थरी माइलाको भेजिटेबल गार्डन’, ‘अभिभारा’, ‘खिल’, ‘चाह के रङ्ग’, ‘भोटको मोल’, ‘नीलो आकाश’ र ‘लौलासा’ छनोट भएका छन्।
यो पनि पढ्नुहोस् र भिडियो हेर्नुहोस् : बालेनको १२ वर्ष पुरानो गीत विवादमा: युट्युबबाट हटाउन साइबर ब्यूरोमा उजुरी
यो सूची सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। कार्यक्रममा महोत्सव अध्यक्ष रघुनाथ सापकोटा र गाउँपालिका अध्यक्ष राजकुमार महतो सहित स्थानीय पत्रकारहरूको उपस्थिति थियो।
‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित सञ्चालन हुँदै आएको यो महोत्सव यसअघि लाप्राक, गोसाईकुण्ड, भकुण्डेबेसी र रामेछापमा आयोजना भइसकेको छ। यस वर्ष भने पहिलो पटक तराई क्षेत्रमा आयोजना हुन लागेको हो।
आयोजकका अनुसार, तीन विधाका लागि ५० भन्दा बढी फिल्म आवेदन परेका थिए, जसबाट १७ फिल्म अन्तिम रूपमा छनोट गरिएको हो। महोत्सव वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ र दर्शकले सबै फिल्म निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ।
यो पनि पढ्नुहोस् र भिडियो हेर्नुहोस् : शोषणविरुद्ध आवाज – ‘लालीबजार’ ट्रेलरले देखायो कडा यथार्थ
