
सीमान्तकृत वादी समुदायको यथार्थ कथा बोकेको नेपाली फिल्म लालीबजार को ट्रेलर सार्वजनिक गरिएको छ। करिब तीन मिनेट लामो ट्रेलरले फिल्मको कथा, पात्र र मुख्य द्वन्द्वलाई प्रभावशाली ढंगले प्रस्तुत गर्छ।
फिल्ममा आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको छ। स्वस्तिमा खड्का ले वादी समुदायकी एक आमाको भूमिका निर्वाह गरेकी छन्, जसले आफ्नी छोरीलाई मालिकको नियन्त्रणबाट मुक्त गराएर शिक्षित र सुरक्षित भविष्य दिन संघर्ष गर्छिन्।
आमाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरले पनि आमाको त्याग र संघर्षलाई नै मुख्य विषय बनाएको छ।
लालीबजार को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
निर्देशक तथा लेखक यम थापा ले पश्चिम तराईको वादी समुदायका महिलाले भोग्दै आएको श्रम र यौन शोषणको कथालाई पर्दामा उतारेका छन्। सामन्ती र पितृसत्तात्मक संरचनाविरुद्धको यो कथा महिला सशक्तीकरणको सन्देश बोकेको छ।
फिल्मले नत्थी प्रथामार्फत सदियौंदेखि चलिरहेको शोषणको यथार्थ देखाउँछ, जहाँ छोरी जन्मिएपछि नै उसलाई मालिकको नियन्त्रणमा राखिने परम्परा छ। यही चक्र तोड्न मुख्य पात्रले गर्ने संघर्ष नै फिल्मको केन्द्र हो।
फिल्ममा रवीन्द्रसिंह बानियाँ ले साहुको भूमिकामा अभिनय गरेका छन्। साथै मुकुन्द श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा र अभय बराल लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
फिल्मका निर्माता म्याक्स दिपेश खत्री र रवीन्द्रसिंह बानियाँ हुन्। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मले यसअघि ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ श्रृंखला र ‘महापुरुष’ जस्ता चर्चित फिल्म निर्माण गरिसकेको छ।
‘लालीबजार’ आगामी वैशाख १८ देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
यो पनि पढ्नुहोस् र भिडियो हेर्नुहोस् : बालेनको १२ वर्ष पुरानो गीत विवादमा: युट्युबबाट हटाउन साइबर ब्यूरोमा उजुरी
