टेस्ला कारबाट शव भेटिएपछि चर्चित गायक D4vd (डीफोरभिड) हत्या आशंकामा पक्राउ, केसले ल्यायो सनसनी

अमेरिकी गायक d4vd (डेविड एन्थोनी बर्क) १४ वर्षीया किशोरीको हत्या आशंकामा पक्राउ परेका छन्। लस एन्जलस प्रहरीले उनलाई बिना जमानत हिरासतमा राख्दै अनुसन्धान अघि बढाएको जनाएको छ।


अमेरिकी इन्डी पप गायक d4vd, जसको वास्तविक नाम डेविड एन्थोनी बर्क हो, १४ वर्षीया किशोरीको हत्या आशंकामा पक्राउ परेका छन्। लस एन्जलस प्रहरीका अनुसार उनलाई बिना जमानत हिरासतमा राखिएको छ र मुद्दा जिल्ला वकिलको कार्यालयमा पेश गर्ने तयारी भइरहेको छ।

यो केस सेलेस्टे रिभास हर्नान्डेज नामकी किशोरीसँग सम्बन्धित छ, जसको शब गत वर्ष सेप्टेम्बरमा बर्कको टेस्ला कारबाट भेटिएको थियो। अदालतका कागजातअनुसार, हलिउडस्थित एक टोइङ यार्डमा पार्क गरिएको गाडीबाट दुर्गन्ध आएको सूचनापछि अनुसन्धान सुरु गरिएको थियो। त्यसक्रममा गाडीको अगाडिको ‘फ्रन्ट ट्रंक’भित्र झोलामा राखिएको अवस्थामा शवका अङ्गहरू फेला परेका थिए।

घटनापछि ग्रान्ड ज्यूरीमार्फत अनुसन्धान भइरहेको थियो। प्रहरीले हालसम्म औपचारिक अभियोग दर्ता नभए पनि गम्भीर शंकाको आधारमा उनलाई पक्राउ गरिएको जनाएको छ।

यता, बर्कका वकिलहरूले भने आरोप अस्वीकार गरेका छन्। उनीहरूका अनुसार, “डेविड बर्कले हत्या गरेका होइनन् भन्ने कुरा प्रमाणले देखाउनेछ,” र घटनामा उनको संलग्नता नभएको दाबी गरेका छन्। वकिलहरूले यो पनि बताएका छन् कि अहिलेसम्म कुनै औपचारिक आपराधिक मुद्दा दायर भएको छैन।

घटनापछि बर्क बस्दै आएको हलिउड हिल्सस्थित घरमा समेत प्रहरीले छापा मारेको थियो। यस घटनाले उनको करियरमा ठूलो असर पारेको छ। उनका विश्व भ्रमणहरू रद्द भए भने केही प्रमुख ब्रान्ड सम्झौताहरू पनि खारेज गरिएका छन्।

डीफोरभिड को हुन्?
d4vd टेक्सासको ह्युस्टन निवासी युवा गायक हुन्, जो ‘Here With Me’ र ‘Romantic Homicide’ जस्ता गीतबाट विश्वभर चर्चित भएका थिए। उनले सुरुवातमा Fortnite खेल्दै आफ्ना भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेर लोकप्रियता कमाएका थिए।

पछि आफैं संगीत निर्माण सिकेर उनले सन् २०२३ मा ‘Petals to Thorns’ नामक ईपी सार्वजनिक गरेका थिए। त्यही वर्ष उनी Variety को ‘Young Hollywood’ सूचीमा परेका थिए र SZA को ‘SOS Tour’मा समेत प्रस्तुति दिएका थिए।

अप्रिल २०२५ मा उनले आफ्नो पहिलो एल्बम रिलिज गरेका थिए। डिजिटल प्लेटफर्ममा उनको प्रभाव निकै ठूलो छ। स्पोटिफाइमा करिब २ करोडभन्दा बढी मासिक श्रोता र टिकटकमा लाखौं फलोअर छन्।

तर अहिले उनको यही चम्किलो करियर गम्भीर आपराधिक आरोपका कारण संकटमा परेको छ। अनुसन्धान जारी रहेको यो केसले संगीत उद्योगदेखि सामाजिक सञ्जालसम्म व्यापक बहस सिर्जना गरेको छ।


यो पनि पढ्नुहोस् र भिडियो हेर्नुहोस्: पुरानो केमिस्ट्री, नयाँ प्रस्तुति: राजेश-करिश्माको ‘नाँच्छु रोधी घरैमा’ गीतले तान्यो ध्यान


SUBSCRIBE 👉