
Ashma Bishwokarma’s Tribute Dance to Michael Jackson Goes Viral
डान्सर आश्मा विश्वकर्मा फेरि एकपटक सामाजिक सञ्जालमा छाएकी छन्। उनले ल्याएको नयाँ कभर डान्स भिडियो छोटो समयमै भाइरल बनेको छ।
यसपटक उनले ‘पपका राजा’ माइकल ज्याक्सनलाई विशेष ट्रिब्युट दिएकी छन्। भिडियोमा आश्माले ज्याक्सनको आइकोनिक स्टाइल, सिग्नेचर मुभ्स र एनर्जीलाई आफ्नै ढंगले प्रस्तुत गरेकी छन्। उनको बडी मुभमेन्ट, एक्सप्रेसन र स्टेज प्रेजेन्सले भिडियोलाई अझ आकर्षक बनाएको छ।
विशेषगरी, मुनवाकजस्ता क्लासिक स्टेप्सलाई नेपाली टचसहित प्रस्तुत गर्नुले दर्शकलाई थप उत्साहित बनाएको देखिन्छ। सामाजिक सञ्जालमा धेरैले उनको प्रस्तुतीको प्रशंसा गर्दै ‘नेपाली माइकल ज्याक्सन’ भन्ने प्रतिक्रिया दिएका छन्।
यतिबेला माइकल ज्याक्सनको जीवनमा आधारित ‘माइकल’ बायोपिक फिल्म अन्तर्राष्ट्रिय बजारमा चर्चा कमाइरहेको सन्दर्भमा आश्माको यो भिडियो झनै सान्दर्भिक बनेको छ।
आश्मा यसअघि पनि दक्षिण भारतीय फिल्म ‘पेड्डी’को गीत ‘चिक्री चिक्री’मा कभर डान्स गरेर चर्चामा आएकी थिइन्। त्यो भिडियोले उनलाई व्यापक पहिचान दिलाएको थियो।
‘कार्टुन्ज क्रू’सँग आबद्ध आश्माले पछिल्लो समय निरन्तर नयाँ कन्सेप्टमा डान्स भिडियो ल्याइरहेकी छन्। उनले मनोरञ्जन मात्र होइन, आफ्नो शैलीमार्फत अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूलाई सम्मान गर्ने प्रयास पनि गरिरहेकी छन्।
हालै उनी अनलाइनखबरले सार्वजनिक गर्ने ‘५० प्रभावशाली महिला’ सूचीमा समेत परेकी थिइन्। यसले उनको लोकप्रियता र प्रभावलाई झन् बलियो बनाएको छ।
यो पनि पढ्नुहोस्: मिस नेपाल अस्मी श्रेष्ठको ग्ल्यामर, समुद्री किनारबाट सार्वजनिक तस्बिर
