विराज भट्टको ‘१२ गाउँ २’ सुटिङ सुरु, च्यासलमा बन्यो ३० लाखको सेट

विराज भट्टको होमप्रोडक्सन फिल्म ‘१२ गाउँ २’को छायांकन च्यासलबाट सुरु भएको छ। समीर भट्ट र काफिया शाहीको जोडी रहने फिल्म दशैंमा रिलिज हुनेछ।


अभिनेता विराज भट्टको आगामी होमप्रोडक्सन फिल्म ‘१२ गाउँ २’को छायांकन सुरु भएको छ। बुधबार ललितपुरको च्यासलस्थित राजु पेन्टर स्टुडियोमा शुभसाइत पूजा गर्दै फिल्म फ्लोरमा गएको हो।

फिल्मको छायांकन करिब ६० दिनसम्म चल्ने बताइएको छ। काठमाडौंसँगै पूर्वी नेपालका विभिन्न स्थानमा सुटिङ गरिने निर्माण टिमले जनाएको छ।

फिल्ममा विराज भट्टसँगै समीर भट्ट, अनुपविक्रम शाही, काफिया शाही र प्रकाश शाहको अभिनय रहनेछ। समीर र काफियालाई अनस्क्रिन जोडीको रूपमा प्रस्तुत गरिनेछ भने अनुपविक्रम शाही खलपात्रको भूमिकामा देखिनेछन्।

फिल्मको सुरुवात नै गीतको छायांकनबाट गरिएको छ। पहिलो दिन खिचिएको गीतमा समीर र काफियालाई देख्न सकिनेछ।

च्यासल स्टुडियोमा विशेष रूपमा तयार गरिएको दुईवटा भव्य सेटले पनि ध्यान तानेको छ। निर्माण टिमका अनुसार ती सेट निर्माणमा करिब ३० लाख रुपैयाँ खर्च गरिएको छ।

दशैं रिलिज लक्षित ‘१२ गाउँ २’लाई काठमाडौं उपत्यकामा गोविन्द शाहीले वितरण गर्नेछन् भने मोफसल क्षेत्रमा कुवेर डिष्ट्रिब्यूसनले जिम्मा लिएको छ। फिल्मको निर्माण नियन्त्रक आरजे प्रणव सुवेदी रहेका छन्।


यो पनि पढ्नुहोस्: दर्शकले मन पराएको जोडी ‘मितज्यू’मा दयाहाङ र सौगातको द्वन्द्व


SUBSCRIBE 👉