
Neeta Dhungana Film Parbati Poster
अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशन फिल्म ‘पार्वती’को पहिलो झलक सार्वजनिक गरिएको छ। निर्माण टिमले एक कार्यक्रम गर्दै फिल्मका दुईवटा पोस्टर सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा नीता ढुंगाना निकै फरक र चुनौतीपूर्ण अवतारमा देखिएकी छन्। एक पोस्टरमा उनी स्कुले छात्राको पोसाक, छोटो कपाल, घाँटीमा कालो धागो र नीलो पिनाफोरमा प्रस्तुत भएकी छन्। सामान्यतया ग्ल्यामरस भूमिकामा देखिने नीता यस फिल्ममा भने पूर्ण रूपमा ‘डी-ग्लाम’ लुक्समा देखिएकी छन्।
पोस्टरले उनको पात्र ‘पार्वती’ कुनै विशेष मानसिक वा सामाजिक अवस्थाबाट गुज्रिरहेको संकेत गर्छ। उनको हेराइ र मुस्कानमा देखिएको निर्दोषपनले समाजले बुझेजस्तो सामान्य पात्रभन्दा फरक संसारमा बाँच्ने युवतीको कथा भन्न खोजिएको अनुमान गर्न सकिन्छ।
अर्को पोस्टरमा गायक तथा कलाकार अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेको दृश्य देखाइएको छ। उमेरमा सानो भए पनि अशोकको पात्र नीताको जीवनमा सहारा र संरक्षकको भूमिकामा रहेको संकेत पोस्टरले दिन्छ। दुवै पात्रको खुला हाँसोले उनीहरूबीचको सम्बन्ध स्वार्थभन्दा माथि रहेको भाव व्यक्त गर्छ।

Neeta Dhungana Film Parbati Poster
पोस्टरमा प्रयोग गरिएको ‘पार्वती’ शीर्षकको डिजाइनले पात्रको जीवनमा विद्रोह, संघर्ष र समाजले लगाएको कुनै ट्यागलाई तोड्न खोजिएको संकेत गरेको छ। दोस्रो पोस्टरको पृष्ठभूमिमा ‘माया’, ‘परिवार’, ‘स्नेह’ जस्ता शब्दहरू लेखिनुले फिल्म भावनात्मक पारिवारिक कथामा आधारित रहेको स्पष्ट हुन्छ।
फिल्म आगामी २०८३ सालको रक्षाबन्धन, भदौ १२ गते प्रदर्शनमा आउनेछ। पोस्टरमा दिदी–भाइजस्तो सम्बन्धको संकेत गरिनु र रक्षाबन्धनलाई रिलिज मिति रोजिनुले फिल्म भावनात्मक पारिवारिक सम्बन्धमा केन्द्रित हुने अनुमान गरिएको छ।
‘पार्वती’ नीताका लागि ठूलो जोखिम र अवसर दुवै मानिएको छ। उनले फिल्मको कथा, पटकथा, निर्देशन र मुख्य भूमिका आफैं सम्हालेकी छन्। यसले उनले यो प्रोजेक्टलाई निकै विशेष रूपमा लिएको देखिन्छ।
फिल्ममा नीता ढुंगाना र अशोक दर्जीसँगै दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ।
नीता ढुंगाना फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन्। छायांकन सुदीप बरालले गरेका छन् भने संवाद शिवम् अधिकारीले लेखेका हुन्।
फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशकका रूपमा रहेका छन् भने सम्पादन साहिल खानले गर्नेछन्। संगीत प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको रहनेछ।
फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
यो पनि पढ्नुहोस्: ‘एक मुठ्ठी बादल’ को प्रीमियर, बेहुली अवतारमा देखिइन् आँचल शर्मा
