‘एक मुठ्ठी बादल’ को प्रीमियर, बेहुली अवतारमा देखिइन् आँचल शर्मा

आँचल शर्मा अभिनीत नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को काठमाडौंमा भव्य प्रीमियर सम्पन्न भएको छ। महिलाका भावना, सामाजिक अपेक्षा र विवाहसँग जोडिएका अनुभवलाई फिल्मले संवेदनशील ढंगले प्रस्तुत गरेको छ।


Aanchal Sharma Steals the Spotlight at ‘Ek Muthi Badal’ Premiere

प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को काठमाडौंमा भव्य प्रीमियर सम्पन्न भएको छ। प्रिमियर कार्यक्रममा फिल्मको टिम, कलाकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रिमियरको मुख्य आकर्षण अभिनेत्री आँचल शर्मा बनिन्। महिला नौमति बाजा समूहको सांगीतिक धूनबीच उनले डिजाइनर मनिष राईद्वारा तयार गरिएको रातो गाउन र लामो घुम्टो लगाएर बेहुली शैलीमा प्रिमियरमा प्रवेश गरेकी थिइन्। कार्यक्रममा फिल्मको विषयवस्तुजस्तै महिलाको उपस्थिति र भावनालाई विशेष प्राथमिकता दिइएको देखिन्थ्यो।

निर्देशक सहारा शर्माको निर्देशनमा बनेको यस फिल्ममा आँचल शर्माले ‘माइली’ नामकी युवतीको भूमिका निभाएकी छन्, जसको विवाहको तयारी चलिरहेको हुन्छ। फिल्मले विवाहसँग जोडिएका भावनात्मक उतारचढाव, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत संघर्षलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ।

फिल्मले मध्यमवर्गीय नेपाली परिवारको यथार्थ चित्रण गरेको भन्दै प्रिमियरमा उपस्थित दर्शकहरूले खुलेर प्रशंसा गरेका थिए। कथावस्तु, अभिनय र कथावाचन शैलीलाई लिएर सकारात्मक प्रतिक्रिया प्राप्त भएको निर्माण टिमले जनाएको छ।

निर्देशक सहारा शर्माले नेपाली सिनेमामा कम देखाइने महिलाका भावना र अनुभवलाई फिल्ममार्फत प्रस्तुत गर्न खोजिएको बताइन्। उनले भनिन्, “यो फिल्म महिलाले भोग्ने धेरै यथार्थ अनुभवहरूमा आधारित छ, जुन नेपाली समाजमा धेरै देखिन्छ तर पर्दामा कम आउँछ।”

कार्यक्रममा निर्माता अभिमन्यु दीक्षित, सामिप्य राज तिमल्सेना, निकुन श्रेष्ठ र अनुप पौडेलले अतिथिहरूलाई स्वागत गरेका थिए। प्रिमियरपछि कलाकार र निर्माण टिमसँग सञ्चारकर्मीहरूको अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो।

अन्तरक्रियामा फिल्म निर्माण प्रक्रिया, महिलाको प्रतिनिधित्व तथा समकालीन नेपाली सिनेमामा स्थानीय कथाहरूको महत्वबारे छलफल गरिएको थियो।

निर्माता अभिमन्यु दीक्षितले दर्शकसँग भावुक अपिल गर्दै भने, “हामीले मनदेखि एउटा फिल्म बनाएका छौँ। अब यसलाई हेर्ने र धेरै दर्शकमाझ पुर्‍याउने जिम्मा तपाईंहरूको हो।”

फिल्म ‘एक मुठ्ठी बादल’ जेठ १ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ।


यो पनि पढ्नुहोस्: पारिवारिक सम्बन्धको उतारचढाव देखाउँदै फिल्म ‘काजी’


SUBSCRIBE 👉