
नेपाली चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको तयारीमा रहेको फिल्मको निर्माण टिमले शुक्रबार ट्रेलर सार्वजनिक गर्दै फिल्मको मुख्य विषयवस्तुबारे दर्शकलाई झलक दिएको हो।
सार्वजनिक ट्रेलरले बालमनोविज्ञान, अभिभावकको अपेक्षा र वर्तमान शैक्षिक प्रणालीले विद्यार्थीमा पार्ने मानसिक दबाबलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ। ट्रेलरमा बुबाको चाहना आफ्नो छोरा राम्रोसँग पढेर गाउँको इज्जत राखोस् भन्ने देखिन्छ भने अर्कोतर्फ छोराको आफ्नै रुचि र सपना रहेको कथा प्रस्तुत गरिएको छ।
परिवारको इच्छा पूरा गर्न खोज्दा पनि रुचि नभएको विषयमा सफल हुन नसक्ने अवस्थाले विद्यार्थीले भोग्ने मानसिक संघर्षलाई ट्रेलरले गहिरो रूपमा देखाएको छ।
ट्रेलरमा गरिबीका कारण विद्यार्थीहरू छात्रवृत्तिबाट बञ्चित हुने यथार्थ पनि देखाइएको छ। साथै, समाजमा पहिलो हुने विद्यार्थीलाई मात्रै सम्मान गर्ने सोच र त्यसले अन्य विद्यार्थीमा पार्ने असरलाई पनि फिल्मले उठाएको छ।
पुरानो सोचमा बाँधिएको समाज, पारिवारिक दबाब, सामाजिक विभेद र घोकन्ते शिक्षाले बालमनोविज्ञानमा पार्ने असरलाई बाबु–छोराको सम्बन्धमार्फत प्रस्तुत गरिएको छ।
फिल्मको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
निर्देशक जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्ममा छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताका रूपमा रहेका छन्। चलचित्रको कथा तथा पटकथा महेश दवाडीले लेखेका हुन्।
फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने संगीत प्रशान्त शिवाकोटीको रहेको छ। रोहित शाक्यले ब्याकग्राउन्ड म्युजिक दिएका छन्।
फिल्ममा फिरोज खड्का चिफ एडी, कला संग्रौलाले प्रोडक्सन डिजाइन र मनोज जोशीले प्रोडक्सन हेडको जिम्मेवारी सम्हालेका छन्। सम्पादन मदन घिमिरेले गरेका हुन्।
निर्माता विनोद पौडेलका अनुसार ‘रोल नं १’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ। फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्नेछन्।
यो पनि पढ्नुहोस्: अशोक दर्जीसँग भावनात्मक कथामा नीता ढुंगाना, ‘पार्वती’को पोस्टर सार्वजनिक
