
Rista Gurung Officially Enters Nepali Cinema with “Aa Bata Aama 2”
निर्देशक Chandra Pant को आगामी फिल्म ‘आ बाट आमा २’ मा Rista Gurung अनुबन्ध भएकी छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले रिस्तालाई औपचारिक रूपमा सार्वजनिक गरेको हो।
अनुबन्धपछि अभिनेत्री गुरुङले अनुभवी र चर्चित टिमसँग काम गर्न पाउँदा निकै उत्साहित रहेको बताइन्। उनले आफू कलाकारभन्दा पनि टिमलाई बढी महत्व दिने बताउँदै फिल्ममा काम गर्न पाउनु नै ठूलो अवसर भएको प्रतिक्रिया दिइन्।
‘यस्तो राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको छ। पल शाह वा आकाश श्रेष्ठको जोडीमा भन्दा पनि यो टिमसँग काम गर्न पाउनु नै मेरो लागि भाग्यको कुरा हो,’ उनले भनिन्।
यता निर्देशक पन्तले भने रिस्ताको जोडी को हुने भन्ने विषयलाई गोप्य राखेका छन्। फिल्ममा उनी कसको अपोजिट देखिने भन्नेबारे अहिले नै खुलाउन नचाहेको उनले बताए।
‘उहाँ फिल्मको हिरोइन हो। तर उहाँको जोडी को हो भन्ने अहिले सरप्राइज नै रहोस्,’ निर्देशक पन्तले सञ्चारकर्मीसँग भने।
रिस्ता गुरुङ ‘मेरो डान्स युनिभर्स २’ की विजेता हुन्। डान्स र रियालिटी शोबाट चर्चा कमाएकी उनी अब ठूलो फिल्ममार्फत दर्शकमाझ आउन लागेकी हुन्।
आगामी असोज ३० गते, दसैंको फूलपातीको अवसरमा प्रदर्शनमा आउने फिल्ममा यसअघि नै Paul Shah, Aakash Shrestha, Bipana Thapa, Pradeep Rawat, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का अनुबन्ध भइसकेका छन्।
फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन्। गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेलको रूपमा निर्माण हुन लागेको यस फिल्मले दर्शकमाझ उच्च अपेक्षा बनाएको छ। पहिलो भागले झण्डै १४ करोड रुपैयाँको बक्स अफिस व्यापार गरेको थियो।
निर्माण टिमका अनुसार फिल्म अमेरिका र क्यानडामा प्रदर्शनअघि नै सोल्ड आउट भइसकेको छ। अन्तर्राष्ट्रिय वितरण अधिकार Doko Films ले महँगो रकममा खरिद गरेको बताइएको छ। नेपालमा भने फिल्मको वितरण RR Films ले गर्नेछ भने डिजिटल अधिकार OSR Digital ले लिएको छ।
यो पनि पढ्नुहोस्: विपिन कार्की उत्कृष्ट अभिनेता, जस्सिता गुरुङ उत्कृष्ट अभिनेत्री र पल शाहलाई सोसियल आइकन एक्टर अवार्ड
