
नेपाली चलचित्र पत्रकारिताको स्तर उकास्ने तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले चलचित्र पत्रकार संघ नेपालले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने घोषणा गरेको छ।
संघले सार्वजनिक सूचना जारी गर्दै चलचित्र पत्रकार तथा लेखनमा रुचि राख्ने सर्जकहरूलाई प्रतियोगितामा सहभागिता जनाउन आह्वान गरेको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी, आर्टिकल वा फिल्म समीक्षा तयार गरी २०८३ असोज २३ गतेभित्र संघको आधिकारिक इमेल filmjournalistnepal@gmail.com मा पठाउन सक्नेछन्।
आयोजकका अनुसार प्रतियोगितामा पेश गरिने सामग्री न्यूनतम १,१०० शब्ददेखि अधिकतम १,९०० शब्दसम्म हुनुपर्नेछ। प्राप्त सामग्रीमध्ये संघद्वारा गठित विशेष छनोट समितिले उत्कृष्ट पाँच सामग्री छनोट गर्नेछ।
प्रतियोगितामा प्रथम हुने सहभागीलाई रु २० हजार, द्वितीयलाई रु १५ हजार, तृतीयलाई रु १० हजार तथा दुई जना सान्त्वना विजेतालाई जनही रु ५ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ।
संघले प्रतियोगितामा सहभागी हुने सामग्री मौलिक, अप्रकाशित तथा लेखक स्वयंको सिर्जना हुनुपर्ने स्पष्ट पारेको छ। साथै, संघका सदस्य तथा मौलिक लेखनलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।
संघका महासचिव गोपीकृष्ण चापागाईं ले चलचित्र पत्रकारिताको गुणस्तरीय विकास, विश्लेषणात्मक लेखन र सिर्जनशील पत्रकारिता संस्कृतिलाई सुदृढ बनाउन यो प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। उनले सम्पूर्ण चलचित्र पत्रकारहरूलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह समेत गरेका छन्।
