
अभिनेत्री रेनुनाथ योगी यतिबेला निकै उत्साहित छिन्। कारण हो, हालै प्रदर्शनमा आएको नेपाली फिल्म ‘रोल नम्बर १’। फिल्मले हलमा राम्रो उपस्थिति मात्र बनाइरहेको छैन, दर्शकबाट पाइरहेको प्रतिक्रियाले रेनुलाई अझ बढी खुशी बनाएको छ।
जेठ १५ देखि देशव्यापी प्रदर्शनमा आएको ‘रोल नम्बर १’ बाल मनोविज्ञानमा आधारित सामाजिक कथा हो। फिल्मले अभिभावकको अपेक्षा, बच्चाको मनोभावना र पढाइमा ‘पहिलो’ हुनुपर्ने दबाबले बालबालिकामा पार्ने असरलाई केन्द्रमा राखेको छ।
फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी रेनु पछिल्लो समय लगातार हल भिजिटमा छिन्। दर्शकसँग प्रत्यक्ष संवाद गर्दा फिल्मको कथा उनीहरूको मनसम्म पुगेको महसुस भएको उनी बताउँछिन्।
“दर्शकहरूको प्रतिक्रिया सुन्दा फिल्मको कथाको मर्म दर्शकको मनसम्म पुगेको पुष्टि गर्छ,” रेनुले भनिन्। उनका अनुसार फिल्मको वर्ड अफ माउथ निकै राम्रो छ, जसले नेपाली फिल्म हेर्न कमै हल पुग्ने दर्शकलाई समेत हलसम्म तानेको छ।
हल भिजिटका क्रममा रेनुले ट्रेलरबाट प्रभावित भएर पहिलोपटक नेपाली फिल्म हेर्न आएका दर्शकसमेत भेटेकी छन्। यसले ‘रोल नम्बर १’ले नेपाली फिल्म बजारमा फरक खालको चर्चा र चासो पैदा गरेको संकेत गर्छ।
रेनुनाथ योगीले फिल्म ‘प्रकाश’बाट अभिनय यात्रा सुरु गरेकी हुन्। ‘प्रकाश’ फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्। रोल नम्बर १’सम्म आइपुग्दा उनले गम्भीर, आमा वा श्रीमतीजस्ता परिपक्व भूमिकामा आफूलाई प्रस्तुत गर्दै आएकी छन्। उमेरले अझै रोमान्टिक भूमिकातर्फ आकर्षित हुनसक्ने अवस्था भए पनि रेनुको रोजाइ फरक देखिन्छ।
यसको मुख्य कारण उनको थिएटर पृष्ठभूमि हो। सन् २०१५ देखि रंगमञ्चमा सक्रिय रेनु पात्रको गहिराइ, कथा र अभिनयको प्रभावलाई प्राथमिकता दिने कलाकारका रूपमा देखिएकी छन्। ‘रोल नम्बर १’मा पनि उनले मनोरञ्जनसँगै समाजमा बोल्नुपर्ने विषय बोकेको भूमिकालाई रोजेकी छन्।
यो पढ्नुहोस्: लोकदोहोरीका स्टार पशुपति शर्मा अब ठूलो पर्दामा, ‘तीन तिघ्रे, क्या बिग्रे’बाट फिल्म अभिनयमा डेब्यु गर्दै
