
हाँस्य कलाकार – अभिनेता जितु नेपाललाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको चलचित्र ‘आई एम जीत बहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनअघि बुधबार काठमाडौंमा चलचित्रको ग्राण्ड प्रिमियर आयोजना गरिएको थियो, जहाँ नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, अभिनेता, गायन क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रह्यो।
प्रिमियरपछि उपस्थित अधिकांश चलचित्रकर्मीहरूले फिल्मको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको प्रशंसा गरेका छन्। उनीहरूले फिल्मले हास्य र भावनालाई सन्तुलित रूपमा जोड्दै एक सामान्य मानिसको सपना, संघर्ष र आत्मविश्वासको यात्रालाई पर्दामा उतारेको प्रतिक्रिया दिएका छन्।
चलचित्रले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँको सानो नाट्य मञ्चबाट सुरु भएको उसको अभिनयप्रतिको मोह, कलाकार बन्ने चाहना, त्यसका लागि भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई फिल्मले भावनात्मक तथा मनोरञ्जनात्मक शैलीमा चित्रण गरेको छ।
ट्रेलर हेर्नुहोस् : कलाकार बन्ने सपनाको संघर्षपूर्ण कथा ‘आइ एम जीत बहादुर’
फिल्ममा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरेलगायत कलाकारहरूको अभिनय छ। फिल्मको निर्माण ब्यानर कर्मभूमि क्रिएसन प्रा.लि. हो भने कथा तथा निर्देशन सुभेन्दु राज घोषको रहेको छ।
‘आई एम जितबहादुर’ जितु नेपालको करिअरका लागि पनि विशेष मानिएको छ। लामो समयदेखि हास्य कलाकार, अभिनेता र टेलिभिजन व्यक्तित्वका रूपमा लोकप्रिय जितु यस फिल्ममार्फत निर्माता रूपमा समेत अगाडि आएका छन्। सार्वजनिक विवरणअनुसार फिल्मको सह-निर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी छन् भने निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माताका रूपमा रहेका छन्।
प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मप्रतिको चासो बढाएको छ। अब शुक्रबारबाट सार्बजनिक प्रदर्शनमा आउने ‘आई एम जीत बहादुर’ले दर्शकहरु सँग कस्तो सम्बन्ध बनाउँछ भन्ने जिज्ञासा अब यसको वास्तविक यात्राले तय गर्नेछ।
यो पनि पढ्नुहोस्: अञ्जु पन्तकी छोरी पारितोषिका अब ठुलो पर्दामा, नाटक हेरेपछि फिल्म अफर

