आ बाट आमा २’ को अन्तर्राष्ट्रिय बजारमा बढ्यो माग मध्यपूर्व प्रदर्शन अधिकार पनि भयो बिक्री

निर्देशक चन्द्र पन्तको चलचित्र ‘आ बाट आमा २’ को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ। यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमानका लागि अधिकार बिक्री भएसँगै चलचित्रको ओभरसिज माग बलियो देखिएको छ।


निर्देशक चन्द्र पन्तको चलचित्र ‘आ बाट आमा २’ प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा चर्चामा आउन थालेको छ। दशैँ लक्षित विश्वव्यापी रिलिजको तयारीमा रहेको चलचित्रको मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको निर्माण पक्षले जनाएको छ।

निर्माण पक्षका अनुसार यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमानका लागि चलचित्रको प्रदर्शन अधिकार बिक्री भएको हो। यससम्बन्धी सम्झौतापत्रमा आर्या इन्टरटेनमेन्ट प्रा.लि.का तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीबीच हस्ताक्षर भएको छ। सम्झौतासँगै मध्यपूर्वका लागि चलचित्रको वितरण अधिकार ‘सोल्ड आउट’ भएको छ।

यसअघि नै चलचित्रको प्रदर्शन अधिकार जापानका लागि आर एन्ड बी इन्टरटेनमेन्ट तथा अमेरिका र क्यानडाका लागि डोको फिल्म्स ले खरिद गरिसकेका छन्। प्रदर्शनअघि नै ओभरसिज राइट्स धमाधम बिक्री हुनुले चलचित्रप्रतिको माग र दर्शकको चासो उच्च रहेको संकेत गरेको छ।

आर्या इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का लगायत कलाकारको मुख्य भूमिका छ।

वैदेशिक रोजगारीका कारण सन्तानसँग टाढिएकी आमाको पर्खाइ र भावनालाई चलचित्रको केन्द्रमा राखिएको छ। “आउँछु भन्ने एउटा झुटो आशामा आमाले वर्षौँदेखि जमरा छरिरहेकी हुन्छिन्” भन्ने भावनात्मक संवादले कथावस्तुप्रति दर्शकमा थप उत्सुकता बढाएको छ।

निर्देशक पन्तकै लेखन तथा पटकथा रहेको चलचित्रका मुख्य व्यवस्थापक करणसिंह रसाली हुन्। चलचित्रको नारा ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ राखिएको छ, जसले पारिवारिक र भावनात्मक कथावस्तुलाई झल्काउँछ। चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउँदैछ।

चन्द्र पन्तकै निर्देशन तथा निर्माणमा बनेको पहिलो भाग ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवमा उक्त चलचित्रलाई सर्वाधिक कमाउने चलचित्रहरूको सूचीमा समेत राखेको थियो।


यो पनि पढ्नुहोस्: पूजा शर्मा र विपिन कार्कीको जोडी पहिलोपटक पर्दामा, कस्तो होला केमेस्ट्री?


SUBSCRIBE 👉