
Pooja Sharma and Bipin Karki
नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता विपिन कार्की अब फिल्म ‘मन विनाको धन २’ मा देखिने भएका छन्। छायांकनको तयारीमा रहेको यो फिल्ममा विपिनको प्रवेशसँगै यसको स्टारकास्ट अझ बलियो बनेको छ।
पछिल्लो समय अत्यधिक व्यस्त र मागमा रहेका अभिनेता कार्की फिल्ममा अनुबन्धित भएसँगै दर्शकमाझ ‘मन विनाको धन २’प्रतिको चासो थप बढ्ने देखिएको छ। यद्यपि, फिल्ममा उनको भूमिका कस्तो हुनेछ भन्नेबारे निर्माण पक्षले अहिले कुनै जानकारी सार्वजनिक गरेको छैन।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा तथा निर्देशन टंक बुढाथोकीले गर्नेछन्। फिल्मको लेखन शिवम् अधिकारीले गरेका छन्। हाल फिल्मको प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको छ।
फिल्ममा यसअघि नै अभिनेत्री पूजा शर्मा, अभिनेता महेश त्रिपाठी, वरिष्ठ कलाकार सरोज खनाल र हास्य कलाकार किरण केसी फाइनल भइसकेका छन्। अब विपिन कार्कीको प्रवेशले फिल्मको कलाकार लाइनअपलाई थप आकर्षक बनाएको छ।

Tanka Budhathoki abd Bipin Karki
विशेष कुरा के छ भने पूजा शर्मा र विपिन कार्की पहिलोपटक एउटै फिल्ममा देखिन लागेका हुन्। त्यसैले ठूलो पर्दामा उनीहरूको केमेस्ट्री कस्तो देखिने हो भन्ने विषय दर्शकका लागि रोचक बन्ने निश्चित छ।
‘मन विनाको धन २’ सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्म हो। विपिनको प्रवेशपछि निर्देशक टंक बुढाथोकी उत्साहित देखिएका छन्।
उनले भने, ‘हामीले केही सातादेखि विपिनजीसँग कुराकानी गरिरहेका थियौं। उहाँ कथावस्तुलाई लिएर निकै उत्साहित हुनुभयो। दर्शकले उहाँलाई नयाँ अवतारमा यो फिल्ममा देख्न पाउनेछन्।’
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘मन विनाको धन’ ले बक्स अफिसमा करिब ४ करोड रुपैयाँको ग्रस कलेक्सन गरेको थियो। पहिलो भागको सफलताबाट उत्साहित टंक बुढाथोकी यसपटक सिक्वेललाई अझ प्रभावशाली बनाउने तयारीमा छन्।
यो पनि पढ्नुहोस्: ‘कंगाल करोडपति’बाट नेपाली फिल्ममा डेब्यू गर्दै सलिना तामाङ
