
काठमाडौंमा सम्पन्न ‘जुनियर सुपरमोडल इन्टरनेसनल नेपाल २०२६’ को उपाधि आयना राईले जितेकी छन्। राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आयोजित प्रतियोगितामा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै आयनाले विजेताको ताज पहिरिएकी हुन्।
उपाधिसँगै उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरिन्। आयनाले ‘चार्मिङ एन्ड कन्फिडेन्ट’ अवार्डसमेत जित्दै प्रतियोगितामा दोहोरो सफलता हात पारिन्।
प्रतियोगितामा एन्जेलिना राई फर्स्ट रनरअप बनिन्। उनले पब्लिक च्वाइस विनर र चार्मिङ फेस अवार्डसमेत प्राप्त गरिन्।
अनन्या पुरी सेकेन्ड रनरअप बन्न सफल भइन् भने उनले पर्सनालिटी एम्बासडरको सम्मान पनि पाइन्।

त्यस्तै, अनमोल परियार थर्ड रनरअप, युबिया महर्जन फोर्थ रनरअप र बिद्ध्या खत्री फिफ्थ रनरअप घोषित भए।
प्रतियोगीहरूको व्यक्तित्व तथा दर्शकसँगको सम्बन्धलाई आधार बनाएर विभिन्न विशेष विधामा पनि सम्मान प्रदान गरिएको थियो। अंशु भण्डारीले भ्युअर्स च्वाइस अवार्ड जितिन् भने जीनियस प्रसाईं म्यानेजमेन्ट च्वाइस विनर घोषित भए।
प्रतियोगितामा सहभागी २३ जना युवा प्रतिभाले आफ्नो व्यक्तित्व, आत्मविश्वास र प्रस्तुति क्षमता देखाउने अवसर पाएका थिए। कार्यक्रमले उनीहरूलाई व्यावसायिक मोडलिङ तथा पेजेन्ट क्षेत्रमा आवश्यक अनुशासन, आत्मविश्वास र स्टेज प्रस्तुतिको अनुभव दिलाउने उद्देश्य राखेको थियो।
कार्यक्रम समरी इन्टरनेसनल इभेन्ट्सले भरत समरीको नेतृत्वमा आयोजना गरेको हो। युवा प्रतिभाको विकास गर्दै इच्छुक मोडलहरूलाई फेसन र प्रस्तुति क्षेत्रसँग परिचित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको कोरियोग्राफी अर्शु महर्जनले गरेका थिए भने दिल माया मगरले इभेन्ट म्यानेजरको जिम्मेवारी सम्हालेकी थिइन्। चर्चित फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए।
वरिष्ठ गायिका ज्ञानु राणा प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी भएकी थिइन्। नेपालका पहिलो एक्जिक्युटिभ सेफ गोविन्द नरसिंह के.सी. विशेष अतिथिका रूपमा उपस्थित थिए।
जेमा फेसन हाउसकी फेसन डिजाइनर जेमा डोल्माले आफ्ना डिजाइनमार्फत कार्यक्रमको दृश्यात्मक प्रस्तुतिमा योगदान दिएकी थिइन्। कार्यक्रमको सुरुवाती नृत्यको कोरियोग्राफी रिना श्रेष्ठले गरेकी थिइन्।
फेसन, प्रतिभा, आत्मविश्वास र स्टेज प्रस्तुतिको संगम बनेको ‘जुनियर सुपरमोडल इन्टरनेसनल नेपाल २०२६’ ले नयाँ पुस्ताका मोडलिङ प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिएको थियो।

