
जेठ १५ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘म्याग्दी रुमाले’ सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको यो गीत लोकलयमा आधारित रहेको छ, जसले ग्रामीण स्वाद र प्रेम संवादलाई रोचक शैलीमा प्रस्तुत गरेको छ।
गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ। गीतका शब्द सुष्मा सिग्देलले लेखेकी हुन् भने संगीत प्रशान्त शिवाकोटी स्वयंले तयार गरेका हुन्। गायनमा प्रशान्त र शान्तिश्रीलाई सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी राईले साथ दिएका छन्।
गीतमा युवक र युवतीबीचको प्रेम संवादलाई सवाल–जवाफ शैलीमा प्रस्तुत गरिएको छ। युवकले प्रेम प्रस्ताव राख्दै सँगै जीवन बिताउने इच्छा व्यक्त गर्छ भने युवतीले हतार नगर्न सुझाव दिन्छिन्। गीतमा प्रेमसँगै पारिवारिक अवस्था र भविष्यप्रतिको सोचलाई पनि समेटिएको छ।
गीतको भिडियोमा विनोद न्यौपाने र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।
‘म्याग्दी रुमाले’ गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
जौन योञ्जनको निर्देशनमा बनेको ‘रोल नं १’ विद्यार्थीको मनोविज्ञानमा आधारित चलचित्र हो। निर्माण पक्षका अनुसार अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असर र त्यसले भविष्यमा पार्ने प्रभावलाई फिल्मले उठाएको छ।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्।
म्याग्दीका रमणीय गाउँहरूमा छायांकन गरिएको फिल्म नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।
यो पनि पढ्नुहोस्: विराज भट्टको ‘१२ गाउँ २’ सुटिङ सुरु, च्यासलमा बन्यो ३० लाखको सेट
