‘झिंगे दाउ २’को तीन पोष्टरमा दशैंको उमंगदेखि पात्रहरूको भावनात्मक यात्रासम्म

फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल बिष्टलगायत कलाकारको अभिनय छ।


फिल्म ‘झिंगे दाउ २’ को प्रचारप्रसार औपचारिक रूपमा सुरु गरिएको छ। निर्माणपक्षले फिल्मका तीन नयाँ पोष्टर सार्वजनिक गर्दै अब गीत र ट्रेलरमार्फत प्रचारलाई थप तीव्र बनाउने तयारी गरेको छ।

सार्वजनिक पोष्टरहरूले फिल्मको कथा, पात्रहरूको सम्बन्ध र भावनात्मक पाटोलाई संकेत गरेका छन्। एक पोष्टरमा केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा देखिएका छन् भने हिउँवाला गौतम, महेश त्रिपाठी र कुशल बिष्ट भावुक अनुहारमा प्रस्तुत छन्। यसले फिल्ममा खुसीसँगै संवेदनात्मक द्वन्द्व पनि रहने संकेत गर्छ।

अर्को पोष्टरले दशैंको उमंगलाई केन्द्रमा राखेको छ। फिल्मका मुख्य पात्रहरू चाडपर्वको रमाइलो माहोलमा देखिएका छन्। यसबाट फिल्मको कथावस्तुमा दशैंको परिवेश पनि महत्वपूर्ण रूपमा जोडिएको अनुमान गर्न सकिन्छ।

तेस्रो पोष्टरमा आर्यन सिग्देललाई देखाइएको छ। पोष्टरमा मुख्य चार पात्रहरू अचम्मित भावमा छन् भने आर्यनले उनीहरूलाई रोकेको जस्तो दृश्य देखिन्छ। यी तीनै पोष्टरले फिल्मप्रति दर्शकको जिज्ञासा र उत्साह बढाउने अपेक्षा गरिएको छ।

फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा अतिथि भूमिकामा देखिँदैछन्। मुख्य कलाकारहरूमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोद कुमार पौडेल लगायत छन्।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतिक, प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ। कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्र्यू नेपाल प्रा.लि.को प्रस्तुतिमा फिल्म निर्माण भएको हो।

तीन वर्षअघि रिलिज भएको फिल्म ‘झिंगे दाउ’ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। त्यसैले यसको सिक्वेल ‘झिंगे दाउ २’ प्रति दर्शकको अपेक्षा पनि उच्च देखिएको छ। फिल्म असोज २ गते रिलिज गर्ने तयारी गरिएको छ। यसको सिक्वेलको रुपमा तयार भएको ‘झिंगे दाउ २’लाई पनि निकै रुचाउने अपेक्षा गरिएको छ । यो फिल्म असोजको २ गते रिलिज हुने तयारीमा छ।


यो पनि पढ्नुहोस्: दिब्य देव र सुहाना थापाको भावनात्मक लुक्ससहित ‘बाः एक योद्धा’को बाहिरियो पोस्टर


SUBSCRIBE 👉