चलचित्र निर्माण टिमले ‘बाः एक योद्धा’को सार्वजनिक गरेको छ। पोस्टर सार्वजनिक भएसँगै चलचित्रको शीर्षकमा रहेको ‘बा’ को हुन्? भन्ने कौतुहलता पनि मेटिएको छ। पोस्टरले चलचित्रका मुख्य पात्र दिब्य देवलाई ‘बा’को भूमिकामा प्रस्तुत गर्दै चलचित्रको भावनात्मक कथा, पात्रहरूको सम्बन्ध र पारिवारिक संघर्षको संकेत एकैसाथ दिएको छ।

चस्मा लगाएका दिब्य देव पोस्टरमा गम्भीर र तनावपूर्ण भावमा देखिन्छन्। उनको हेराइले पात्रमाथि परेको मानसिक, पारिवारिक र आर्थिक दबाबको आभास दिन्छ। उनकै छेउमा सुहाना थापा देखिएकी छन्। पोस्टरले उनलाई ‘बा’की छोरीका रूपमा प्रस्तुत गरेको छ। सामान्य पहिरन, गाउँघरमा बोकिने झोला र तनावयुक्त हिँडाइले सुहानाको पात्र पनि जीवनको कुनै कठिन मोडबाट गुज्रिरहेको संकेत गर्छ।
पोस्टरको भित्तामा टाँसिएको पारिवारिक फोटोले चार सदस्यीय परिवार देखाउँछ—बाबु, आमा, छोरी र छोरा। यो दृश्यले चलचित्रलाई एक मध्यमवर्गीय नेपाली परिवारको कथा बनाउने संकेत गरेको छ।
आकाशमा देखिएको हवाइजहाजले परिवारको कोही सदस्य वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेश गएको हुन सक्ने अनुमान जगाउँछ। मोटरसाइकल, घरको वातावरण र पोस्टरको रङ संयोजनले पनि मध्यमवर्गीय जीवनशैलीलाई झल्काएको छ।
पृष्ठभूमिमा देखिएको जग्गाधनी पूर्जा र छाप अर्को महत्वपूर्ण संकेत हो। यसले सन्तानको भविष्यका लागि बुवाले घर–जग्गा धितो राखेर वा सम्पत्ति जोखिममा पारेर पैसा जुटाउनुपर्ने अवस्थातर्फ कथा मोडिएको हुन सक्ने देखाउँछ।
पोस्टरले झरना थापालाई पनि महत्वपूर्ण भूमिकामा देखाएको छ। पारिवारिक फोटोका आधारमा झरना र सुहाना आमा–छोरीको भूमिकामा देखिने संकेत गरिएको छ। दिब्य देवको अपोजिटमा झरना थापाको उपस्थितिले चलचित्रको पारिवारिक भावनालाई अझ बलियो बनाएको छ।
चलचित्रको मूल कथा नेपाली समाजमा बुवाले सन्तानका लागि गर्ने त्याग, संघर्ष र जीवनभर बोकेको जिम्मेवारीसँग जोडिएको देखिन्छ। धेरै नेपाली परिवारमा बुवाको संघर्ष चुपचाप चलिरहन्छ। ‘बाः एक योद्धा’ले त्यही मौन संघर्षलाई पर्दामा उतार्ने प्रयास गरेको संकेत पोस्टरबाट मिल्छ।
चलचित्रमा दिब्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रको कथा र पटकथा पनि लम्साल आफैँले लेखेका छन्।
चलचित्रका निर्माता वसन्त लम्साल हुन्। शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
‘बाः एक योद्धा’ भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा छ। कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको यो चलचित्र पहिलो पोस्टरबाटै भावनात्मक पारिवारिक कथाको रूपमा चर्चामा आएको छ।
यो पनि पढ्नुहोस्: अनमोल केसी र प्रिन्सी खतिवडा अभिनित फिल्म ‘बाटुलो जुन’को सकियो छायाँकन!
