आफ्नै सुख-दुःख पर्दामा उतारिँदा भावुक मदनकृष्ण, पहिलो चरणको छायांकन पूरा

आफ्नो जीवनकथा पर्दामा उतारिँदै गर्दा मदनकृष्ण श्रेष्ठ स्वयं छायांकन सेटमा पुगेका छन्। मिलन चाम्स निर्देशित ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन पूरा भएको छ, जसमा महेश त्रिपाठी र केकी अधिकारी मुख्य भूमिकामा छन्।

आफ्नै जीवनका घटना चलचित्रका दृश्यमा उतारिँदै गरेको हेर्दा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ भावुक बनेका छन्। उनको जीवनीमा आधारित चलचित्र ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकनमा उनी स्वयं सेटमा उपस्थित भए। निर्देशक मिलन चाम्सका अनुसार दृश्यहरू नियाल्दै आवश्यक सुझाव दिएका मदनकृष्ण चलचित्रको कामप्रति सन्तुष्ट छन्।

असोज २ गते काभ्रेको धुलिखेलबाट सुरु भएको चलचित्रको पहिलो चरणको छायांकन सकिएको छ। निर्माण टोली अब दसैँलगत्तै दोस्रो चरणको छायांकनमा फर्किने तयारीमा छ।

“उहाँ आफ्नो जीवनीमा बनेको सिनेमाको छायांकन हेरेर निकै भावुक पनि हुनु भएको छ। उहाँ सिनेमाको काम देखेर सन्तुष्ट पनि हुनुहुन्छ,” निर्देशक चाम्सले भने, “जसको कथामा सिनेमा बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई थप सहज पनि भएको छ।”

‘म मदनकृष्ण’मा अभिनेता महेश त्रिपाठीले मदनकृष्ण श्रेष्ठको भूमिका निर्वाह गरिरहेका छन्। केकी अधिकारी उनकी पत्नी यशोदाको भूमिकामा देखिँदै छिन्। चलचित्रले मदनकृष्णको कलाकारितासँगै प्रेम, वैवाहिक जीवन र व्यक्तिगत संघर्षलाई पनि समेट्नेछ।

मदनकृष्णको जीवनयात्राको महत्त्वपूर्ण हिस्सा रहेको हरिवंश आचार्यसँगको सहकार्य पनि कथामा समावेश छ। पर्दामा अरुण क्षेत्री हरिवंशको भूमिकामा देखिनेछन् भने वर्षा राउतले उनकी पत्नीको भूमिका निर्वाह गर्नेछिन्। नेपाली दर्शकमाझ ‘मह जोडी’का रूपमा परिचित मदनकृष्ण र हरिवंशको सहकार्यलाई यी कलाकारले पर्दामा प्रस्तुत गर्नेछन्।

चलचित्रको कथामा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, अन्तरजातीय विवाह र कलाकारिताका आरोह अवरोह समेटिनेछन्। दर्शकलाई हँसाउँदै आएका कलाकारको सार्वजनिक परिचयसँगै उनको जीवनका सुख, दुःख र संघर्ष पनि चलचित्रको केन्द्रमा रहनेछन्।

यम थापाले कथा तथा पटकथा लेखेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरिरहेका छन्। भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा राजकुमार श्रेष्ठले निर्माण गरिरहेको ‘म मदनकृष्ण’ चैत ४ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ।

चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी र हिउँवाला गौतमलगायत कलाकारको पनि अभिनय रहनेछ।

‘म मदनकृष्ण’ को डिजिटल अधिकार प्रतिष्ठित डिजिटल कम्पनी ओएसआर डिजिटलले चलचित्रको ब्रान्ड भ्यालु र दर्शकीय सम्भावनालाई ध्यानमा राख्दै यसको डिजिटल अधिकार खरिद गरिसकेको छ।

पदमबहादुर श्रेष्ठ ‘बाबु श्रेष्ठ’ चलचित्रका छायांकन निर्देशक हुन्। सम्पादन मिलन श्रेष्ठ, ब्याकग्राउन्ड म्युजिक अलिश कार्की र साउन्ड डिजाइन भरत कँडेलको छ।

चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछन्।

SUBSCRIBE 👉