काठमाडौंमा क्रिएटर समिट २०२६, डिजिटल प्रभाव र पोषण सचेतनामा जोड

क्रिएटर समिट २०२६ काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। १६६ सहभागी र ३० भन्दा बढी ब्रान्डको सहभागितामा सम्पन्न समिटमा सिर्जनशीलता, डिजिटल प्रभाव, उद्यमशीलता र पोषण सचेतनाका विषयमा छलफल गरिएको थियो।


नेपालका कन्टेन्ट क्रिएटर, उद्यमी, व्यवसायी, स्वास्थ्य तथा पोषण क्षेत्रका व्यक्तित्व र विभिन्न क्षेत्रमा सक्रिय अग्रणी अनुहारलाई एउटै मञ्चमा जोड्दै क्रिएटर समिट २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।

च्याँटे प्याँटे इन्क.द्वारा आयोजित समिटमा १६६ जना सहभागी तथा ३० भन्दा बढी ब्रान्ड र साझेदारको सहभागिता रहेको थियो। कार्यक्रमलाई यू.एस. सोयबिन एक्सपोर्ट काउन्सिलको Right to Protein अभियानले सहयोग गरेको थियो।

समिटमा सिर्जनशीलता, डिजिटल प्रभाव, उद्यमशीलता, व्यक्तिगत ब्रान्डिङ र जिम्मेवार सामाजिक सन्देशका विषयमा केन्द्रित छलफल गरिएको थियो। नेपालमा बढ्दो डिजिटल क्रिएटर समुदायले मनोरञ्जनसँगै जनचेतनामूलक सन्देशलाई कसरी प्रभावकारी बनाउन सक्छ भन्ने विषय कार्यक्रमको महत्वपूर्ण पक्ष बन्यो।

USSEC का तर्फबाट डिबा जियानोलिसले गुणस्तरीय प्रोटिनको पहुँच, पोषण सचेतना र स्वस्थ जीवनशैलीका विषयमा धारणा राखिन्। उनले डिजिटल क्रिएटरहरू समाजमा व्यवहारिक र प्रभावकारी सन्देश पुर्‍याउन सक्षम माध्यम भएको बताइन्।

कार्यक्रममा डा. आशेष भट्टराई, आनन्द बगारिया, साइग्रेश पोख्रेल, सन्जोग कोइराला, कविता नेपाली, इभाना मानन्धर, सबाना खातुन, ओडा स्टिन तथा उषा रजाकलाई प्यानलिस्टका रूपमा घोषणा गरिएको थियो। आकस्मिक यात्राका कारण उषा रजाक प्रत्यक्ष उपस्थित हुन नसके पनि उनी कार्यक्रमको आधिकारिक प्यानलिस्ट थिइन्।

छलफल सत्रहरूमा कन्टेन्ट निर्माण, व्यक्तिगत पहिचान निर्माण, उद्यमशील सोच, डिजिटल प्रभाव र सामाजिक उत्तरदायित्वका विषयमा विचार आदानप्रदान गरिएको थियो। सहभागीहरूले नेपालमा क्रिएटर इकोसिस्टमलाई थप व्यवस्थित, जिम्मेवार र सहकार्यमा आधारित बनाउने आवश्यकता औंल्याए।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन हास्यकलाकार सन्दीप क्षेत्रीले स्ट्यान्ड–अप कमेडी प्रस्तुत गरे। उनले हास्य प्रस्तुतिमार्फत स्वस्थ जीवनशैली र पोषणसम्बन्धी सन्देशलाई सहज रूपमा दर्शकमाझ पुर्‍याए।

समिटमा वर्षा भण्डारीको कोरियोग्राफीमा फेशन शो पनि आयोजना गरिएको थियो। उक्त शोमा तीन क्लोदिङ ब्रान्ड र १३ मोडल सहभागी थिए, जसले कार्यक्रमलाई ग्ल्यामर, फेसन र ब्रान्ड सहकार्यको रंग थपिदियो।

कार्यक्रमको उत्पादन तथा इभेन्ट व्यवस्थापन सुन्य प्रोडक्सन्सले बिधान बास्तोला र सौगत आचार्यको नेतृत्वमा गरेको थियो। समग्र कार्यक्रमको निर्देशन तथा कार्यान्वयन इभेन्ट एक्जिक्युटिभ डाइरेक्टर श्रीजल बिक्रम शाहीले गरेका थिए।

आयोजकका अनुसार, क्रिएटर समिट २०२६ ले सिर्जनशील व्यक्तित्व, उद्योग, ब्रान्ड र विभिन्न क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा जोड्दै नेपालमा जिम्मेवार डिजिटल प्रभाव, सहकार्यको संस्कृति र जनचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याएको छ।

सामाजिक सञ्जालमा क्रिएटरहरूको प्रभाव बढ्दै गएको वर्तमान समयमा यस्ता कार्यक्रमले मनोरञ्जन, उद्यमशीलता, फेसन र जनस्वास्थ्य सचेतनालाई एउटै संवादमा ल्याउने सम्भावना देखाएको छ।